बजेट अभावले व्यवस्थापनमा समस्या

|

काठमाडौं :  शुक्रबार साँझ डिल्लीबजार कारागार गेटछेउमा रहेको भवन भत्कियो। मुख्यद्वारको पहिलेदेखि जोखिमयुक्त भवन रहेकोले कैदीबन्दीलाई त्यहाँ राखिएको थिएन त्यसैले मानवीय क्षति भने हुन पाएन।

मुलुकभर रहेका अधिकांश कारागार भवन पुरानो, जीर्ण अवस्थामा छन्। साँघुरो र भूकम्पले आंशिक क्षति गरेका विभिन्न जिल्लाका कारागारमा करिब २५ हजार कैदीबन्दी बस्न बाध्य छन्।

डिल्लीबजार कारागारमा दुईवटा ब्लकमा गरेर ६ सय १२ कैदीबन्दी छन्। कारागारका अधिकांश भवन भूकम्पले चर्केका र जोखिमयुक्त छन्।

अहिले पनि सुनधारास्थित केन्द्रीय कारागारको रातो स्टीकर अंकित भवनमा कैदीबन्दीको ज्यान जोखिममा पर्ने गरी राखिएको छ। सुनधारामा ४ वटा रातो स्टिकर अंकित भवनमध्ये २ वटा भवनलाई भत्काएर निर्माण भइरहेको छ। अन्य दुई भवनमा १ सय कैदीबन्दी राखिएको छ।

नयाँ भवन बनेपछि सार्छौं

नयाँ भवन बनेपछि स्टिकर अंकित भवनमा राखिएको कैदीबन्दीलाई राखिएको सारिने केन्द्रीय कारागार सुनधाराका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।​ उनका अनुसार २०७२ सालको भूकम्पले ४ वटा भवनमा क्षति गरेको थियो। कारागारको भत्किएको भवनमा १६ जनाको मृत्यु पनि भएको थियो।

निर्माणाधीन भवन कोरोनाको कारणले पनि रोकिएको बाँस्कोटाको भनाइ छ। कैदीबन्दीको भवन तत्काल क्षति भएमा उद्दार गरेर राख्नको लागि २० वटा टेन्ट स्टक राखिएको उनले जानकारी दिए।

'कारागारको खुला स्थानमा टेन्ट बनाएर राख्न सकिने गरी टेन्ट राखिएको छ,' जेलर बाँस्कोटाले भने।

केन्द्रीय कारागारमा ३१ सय बढी कैदी

सुनधारा केन्द्रीय कारागारमा ३ हजार १ सय ५१ कैदीबन्दी रहेका छन्। २ हजार ७ सय ५३ पुरुष,  ३ सय ९८ महिला र १४ बालबालिका छन्। लकडाउन अवधिमा र सरकारको आदेशमा कैदीबन्दीले छुट पाएर ६० सहित १ सय कैदीबन्दी छुटेको उनले जानकारी बाँस्कोटाले जानकारी दिए।

बाँस्कोटाले भने,'नयाँ २ सय कैदीबन्दी थपिएको र सबैको पिसिआरमा कोरोना परीक्षण गरिएको छ,  २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। २७ पुरुष,२ महिला र २ वर्षको बच्चा छन्।'

बजेट अभावले समस्या

मुलुकभरको कारागार धेरै पुरानो र जीर्ण अवस्थामा रहेकोले नुवाकोटको देवीघाटमा केन्द्रीय कारागार निर्माण भइरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेल बताउँछन्। उनका अनुसार ७ हजार कैदीबन्दी रहने गरी निर्माण भइरहेको छ। पुस मसान्तसम्म निर्माण सम्पन्न हुनेगरी काम भइरहेको छ।

लकडानउमा सामाजिक दूरी कायम गरी काम भइरहेको छ। अदालतबाट सजाय पाउनुपर्ने गरी निर्णय भइसकेका लागि मात्र नुवाकोटको कारागारमा लगेर राखिन्छ। काठमाडौं उपत्यकाको कारागारमा न्यायिक पुर्पक्षको लागि थुनामा रहने व्यक्तिलाई राखिन्छ।

मुलुकभरका अधिकांश कारागारका भवनहरु जोखिमयुक्त रहेको महानिर्देशक कँडेलले बताए। 'डिल्लीबजार कारागार भवनको बाहिरपट्टिको वाल भत्किएको हो,' उनले भने,' मुलुकका अधिकांश भवन कैदीबन्दीलाई बस्नको लागि सहज हुने खालको छैनन्। उपत्यका बाहिरको जिल्लामा रहेका  कारागार भवनको छानामा जस्तापाता र भवनको छतमा झार उम्रेका छन्।'

नेपालमा भएका कारागार भवन कैदीबन्दी मैत्री नभएको महानिर्देशक कँडेलको दाबी छ। कैदीबन्दीको लागि सबै भवनमा आधारभूत आवश्यकता पूरा हुने केही पनि नरहेको उनको भनाइ छ।

कारागार सुधारको लागि राज्यले पर्याप्त बजेट विनियोजन नगर्दा पनि सुविधा सम्पन्न कारागार भवन बन्न नसकेको उनले बताए।

कँडेलका अनुसार कैदीबन्दीलाई राम्रोसँग स्नान गर्नको लागि स्नान घर, शौचालय र अन्य आवश्यक भौतिक संरचना पनि छैनन्। यही अवस्था हो भने तत्काल कारागारको अवस्था सुध्रनेवाला छैन, मुख्य कुरा राज्यले कारागार व्यवस्थापनको लागि बजेट व्यवस्थापन गर्नुपर्छ।

बाँके जिल्लामा २ वटा कारागार बनाइरहेको उनले जानकारी दिए। 'क्षेत्रीय कारागार र ठूलो कारागार निर्माण भइरहेको छ,' उनले भने,' ठूलो कारागारमा दुईतिहाइ सजाय काटिसकेका कैदीबन्दीलाई राखिन्छ। बाहिर काम गरेर पनि भित्र कारागारमा बस्न पाउँछन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.