|

  • सन्तोष क्षेत्री

दोहा : वैदेशिक रोजगारीको सिलसिलामा कतार आइपुगेका ८० जना नेपाली कामदार अलपत्र परेका छन्। कार्यरत कम्पनीबाट करिब ५ महिनादेखि तलब नपाएको र सञ्चालकहरु पनि सम्पर्कविहीन भएकाले कामदारहरुको बिचल्ली भएको हो।

यसमध्ये केहीले आसपासमा पाइने फुटकर काम गरेर जिविका चलाए पनि अधिकांशले साथीभाइ र चिनजानका व्यक्तिहरुसँग मागेर गुजारा गरिरहेका छन्। आफूलाई कतार ल्याउने कम्पनी भागेको र दूतावासले पनि गम्भीरतापूर्वक चासो नदिएको उनीहरुको गुनासो छ।

एउटै कोठामा १०/१२ जनासम्म कोचिएर बस्नु परेकाले कामदारहरु बिरामी पर्न थालेका छन्।

दोहाको सनैया- ४१ स्थित एचबीके कम्पनीपछाडिको क्याम्पमा रहेका पीडित नेपाली कामदारहरुले अलपत्र पार्ने कम्पनीलाई कानुनी कारबाही गरी आफूहरुको उद्धार गरिदिन अपिल गरेका छन्। अलपत्र परेकामध्ये अधिकांश स्केल, जुडेल कतार, कार्डेक्सलगायत कम्पनीमा कार्यरत छन्।

यता कतारस्थित नेपाली दूतावासले भने नेपालीहरु अलपत्र परेको भन्ने जानकारी आएको र सम्बन्धित कम्पनीलाई कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाउन लागिएको जनाएको छ। कतारस्थित कार्यबाहक नेपाली राजदूत मणिरत्न शर्माले नेपाल फर्कन चाहनेलाई फिर्ता पठाउने र यहीँ कम्पनी परिवर्तन गरेर काम गर्न चाहनेलाई त्यही अनुरुपको व्यवस्था मिलाउने प्रयास भइरहेको बताए।

अलपत्र परेका कमदारहरुसँग मंगलबार नयाँ शक्ति नेपाल कतारको टोलीले पनि भेटेको थियो। नयाँ शक्तिका कतार संयोजक बीबी खराल, मुस्लिम विभाग संयोजक इब्राहिम मिया, कलिम मिया, बसिर मिया लगायतले अलपत्र परेका नेपालीलाई भेटेर सहयोग गर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.