डडेल्धुरा अस्पताललाई पिसिआर मेसिन हस्तान्तरण

|

डडेल्धुरा : ह्युम्यानिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसिआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिएको छ।

फाउन्डेसनले कोरोना परीक्षण गर्ने पिसिआर मेसिन आइतबार डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेको हो।

फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, बुद्धिजीवीलगायत दाताबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन लिएर काठमाडौंबाट ट्रक दिउँसो अत्तरिया पुगेको थियो। र, त्यहाँबाट उक्त मेसिन बुझेर डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष ओझा डडेल्धुरातर्फ लागेका छन्। 

उनले मेसिन जडान गर्ने प्राविधिक पनि सँगै आएकाले सोमबारबाटै जडानको काम सुरु गर्ने बताए। ‘भोलिबाटै पिसिआर मेसिन जडानको काम गर्छौ’, उनले भने, ‘अबको एक हप्ताभित्रै काम सकेर मेसिन सुचारु हुन्छ।’ यहाँ संकलन गरिएका थ्रोट स्वाबको नमुना परीक्षणका लागि धनगढी र काठमाडौं पठाउनुपर्ने बाध्यता छ। सुचारु भएपछि यहाँ नै कोरोना परीक्षण हुनेछ।

मेसिन अस्पताललाई हस्तान्तरण गरेको फाउन्डेसन नेपालका अध्यक्ष श्याम तायलले जानकारी दिए। पिसिआर  मेसिन खरिदमा फाउन्डेसनले अगुवाइ गरे पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सहजीकरण एवं समन्वय गरेको उनले बताए।

५१ हजार सहयोग

डडेल्धुरामा पिसिआर मेसिन स्थापनाका लागि डडेल्धुरा अस्पताल विकास समिति कर्मचारी युनियनले ५१ हजार सहयोग गरेको छ।

मेसिन स्थापना गर्न पहल गरेको फाउन्डेसनलाई आइतबार युनियनका तर्फबाट अध्यक्ष रमेशप्रसाद भट्टले फाउन्डेसनका डडेल्धुरा प्रतिनिधि बरुण पनेरुलाई ५१ हजार १ सय ५१ रुपैयाँको चेक हस्तान्तरण गरेको गरे। डडेल्धुरा अस्पतालमा विकास समितिअन्तर्गत रहेका कर्मचारीले मासिक तलब भत्ताको केही रकम हित कोषमा सञ्चित गरेर सामाजिक सेवामा सहयोग गर्दै आएका युनियनका सचिव प्रकाशचन्द्र बुढा ऐरले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.