विचार

गोर्खाल्यान्ड आन्दोलन यसरी सुरु गरेका थिए सुवास घिसिङले
SHARES

फागुन ४, २०७३

    दार्जिलिङका सुवास घिसिङले ८० को दशक प्रारम्भमा गोर्खाल्यान्ड अन्दोलन सुरु गरे। तर २२ अगस्ट १९८८ मा भएको भारतको केन्द्र सरकार, पश्चिम बंगाल राज्य सरकार र सुवास घिसिङका बीचमा भएको त्रिपक्षीय सम्झौता र २३ अगस्ट १९८८ को भारतको केन्द्र सरकारले प्रकाशित गरेको राजपत्रपछि आन्दोलन स्थगित भयो।

    यो स्थगनलार्इ भारत र नेपालमा ख्याति कमाइसकेका धेरै लाल बुझक्कडहरुले चरमोत्कर्षमा पुगेको गोर्खाल्यान्ड आन्दोलनलार्इ सदाका लागि समाप्त भएको अर्थ लगाए। उनीहरुले  सुवास घिसिङलार्इ गाली गरे। 

    कसैले भारत सरकार र बङ्गाल सरकारलार्इ घुँडा टेकाएको अर्थ लाएर खुसी भए। केही विवेक भएका मानिसहरुले यो आन्दोलन होइन। अभियान हो। लक्ष्यमा नपुगी स्थगित हुँदै त्रिपक्षीय सम्झौताले अभियान स्थगित भइको होइन चौतारीमा विश्राम लिएको मात्रै हो भन्ने अर्थ लगाए।

    कसैकसैले त त्यो बेलामा नै सुवास घिसिङलार्इ 'भारतीय गुप्तचर सस्था "र" को एजेन्ट हो, भारतीय दलाल हो, नेपाल र नेपालीको अस्तित्व मेटाउने प्रयासमा लागेको जातिद्रोही हो। भाषाद्रोही हो' सम्म भने। विशेष गरेर नेपाल लगायतका बुद्धिजीवी र केही राजनीतिज्ञहरुले सुवास घिसिङले सुरु गरेको गोर्खाल्यान्ड आन्दोलन राजनीतिक लेप लगाएको आन्दोलन मात्र नभएर गोर्खाल्यान्ड अभियान थियो, महाअभियान थियो भन्ने कुरा बुझ्न सकेनन्। विवेक भएका मान्छेहरुको संख्या नेपाल र भारत दुबैतिर कम थियो। 

    हाल सुवास घिसिङ दिवंगत भएको अवस्थामा गोर्खाल्यान्ड अन्दोलनको मर्म नबुझे जस्तो गर्नेहरु पनि होलान्। तर त्यसको मर्म बुझ्नेहरुको संख्या नेपाल र भारत दुबैतिर बढ्दो छ।

    यस सन्दर्भमा त्यो आन्दोलनको प्रेरणा केबाट घिसिङले पाएका थिए भन्ने बुझ्नु जरुरी छ। सुवास घिसिङले गोर्खाल्यान्ड आन्दोलन सुरु गर्ने प्रेरणा कहाँबाट पाए?  दार्जिलिङमा उनी भन्दा पहिले रतनलाल माइलाबाजे, गणेशलाल सुब्बा, टी मनेन, डम्बरसिह गुरुङ, अरिबाहादुर गुरुङ, शिव कुमार रार्इ, मदन थापा, मदन हमाल, रणधीर सुब्बा, टिकाराम शर्मा, देउप्रकाश रार्इ, दावा लामा, आर्इबी रार्इ, आर्बी रार्इ, मदन तामाङ जस्ता राजनीति गर्ने मानिसहरु तथा डा. कुमार प्रधान जस्ता इतिहासका ज्ञाता र प्रेम आले जस्ता जण्ड वकिलहरुले, सुधपाहरुले संसारमै पहिलो पटक बनाएको नेपाली जाति र नेपाली भाषाका पक्षमा अनेकौ कसरतहरु गरे। चुनाव जिते।  बङ्गाल सरकारका मन्त्री भए तर सुवास घिसिङको गोर्खाल्यान्ड आन्दोलनमा जस्तो सबैको सहयोग र पूर्ण समर्थन जुटाउन सकेनन्।

    दार्जिलिङको मन्जु कमानका जन्मजात कमाने बासिन्दा सुवास घिसिङ, नेपाल सरकार, बेलायत अधिनस्थ भारत सरकार र बेलायत सरकारका बीचमा भएको ९ नोभेम्बर १९४७ को त्रिपक्षीय सम्झौता अनुसार गोर्खा पल्टनको लेसनायकको नोकरी छोड्ने सिपाही सुवास घिसिङ। नीलो चोली, मने लगायतका १७ थान उपन्यासका उपन्यासकार सुवास घिसिङ, एउटा कविता सङ्ग्रहका कवि सुवास घिसिङले दार्जिलिङ पहाडको सेरोफेरो भित्र राजनीतिकरुपमा पूर्ण जनसमर्थन जुटाउने प्रेरणा कहाँबाट पाए? यो जान्न जरुरी छ।

    भारतको नागाल्यान्डमा भएको नागा विद्रोह दबाउने क्रममा नागाल्यान्डको जङ्गलमा खटिएका समयमा भेटिएको घाइते नागालार्इ मार्न राइफल तेर्स्याउँदा त्यो नागाले भनेछ- 'ए गोर्खा ! एकछिन थाम। मलार्इ मार्नुभन्दा पहिले मेरो कुरा सुन् त्यसपछि मलार्इ मार्लास्। म खुसी साथ मर्ने छु।

    कोमल हृदय भएका घिसिङले फौजी पारामा भनेछन्- ए दुश्मन नागा, छिटो भन तेरो अन्तिम इच्छा के हो?"

    घाइते नागाले भनेछ- ए गोर्खा जवान तँ के का लागि लड्दैछस्?  तेरो माटो, तेरो जातीय अस्तित्व, तेरा पुर्खाको गौरव,  तेरो चिनारी, तेरो अधिकार भारतमा कहाँ छ? कस्को युद्ध लड्दैछस्? तँ के का लागि लडेको? म त मेरो जाति, मेरो माटो, मेरो अस्तित्व मेरा पुर्खाको गौरव, मेरो स्वतन्त्रता र मेरो अस्मिताका लागि लड्दैछु भने तँ के का लागि लड्दै छस्? भातका लागि लड्छस् होइन? तँलार्इ भन्नु यत्ति नै हो। लु अब मलार्इ मार मेरो छातीमा गोली ठोक किन ढिलो गर्छस् फौजी? मार मलार्इ। 

    सुवास घिसिङले ताकेको राइफल घोप्टयाएर जाति, माटो, पुर्खाको गौरव, अस्मिता, अस्तित्व र अधिकारको अभाव भएको सत्य कुरा मनमा खेलाउँदै छट्पटिएर क्याम्पमा आएपछि लगत्तै पल्टनबाट नाम काटेर दार्जिलिङ आएको झण्डै २५ वर्ष पछि मात्रै चियाकमान खासमहल बस्ती वनबस्ती सिन्कुना ल्पाण्टेसन( कुलाइन बगान) डीआइफन्ड (दार्जीलिङ डेभलपमेन्ट फन्ड) का ससाना बजारहरु तथा दार्जिलिङ, खर्साङ, कालेबुङ सहर बजारतिरका हाम्रा पहाडी मूलका मानिसहरुलार्इ जतिपुस्ता बसे पनि भारतमा आफ्नो अस्तित्व नभएको भारतीय हुन नसकेको, नेपालकाले भारतको भन्ने, भारतले नेपालका रेसिप्रोकल बेसिसका मान्छे भन्ने गरेको, तत्कालीन भारतीय प्रधानमन्त्री मोरारजी देशार्इले नेपाली भाषालार्इ संवैधानिक मान्यता दिइयोस् भन्ने माग गर्नेहरु नेपाल जानु, नेपालमा गएर माग गर्नु भनेको सत्य कुरा समेत सुनाउँदै, बुझाउँदै एक्लै हिँडेका थिए।

    यो कुराको प्रमाणका लागि उनले ३१ जुलार्इ १९५० भएको नेपाल भारत मैत्री तथा शान्ति सन्धिको धारा ७ मा लेखिएको बेहोरा मात्रै फोटो कपी गरेर बाँड्दै जनचेतना जगाउँदै नेपालका राजा श्री ५ वीरेन्द्रलार्इ बिन्तिपत्र मार्फत सबै बेहोरा अवगत गराएको तथा संयुक्त राष्ट्र संघमा चिठी पठाउँदै सत्य बेहोराको जानकारी गराएका थिए। प्रमाणित सत्य तथ्य कुरा खुलाएर नेपालका राजालार्इ बिन्तिपत्र दिने तथा राष्ट्र संघमा चिठी लेख्ने काम गरेकोमा भारतको केन्द्र सरकार र बङ्गाल सरकारले सुवास घिसिङलार्इ बिच्छिन्‍नतावादी, अलगाववादी, आतङ्ककारी, देशद्रोही भन्न थाले पछि मात्र आन्दोलन चर्कँदै उग्ररुप लिन थालेको हो।

    अन्त्यमा के प्रश्न उठ्न सक्छ भने गोर्खाल्यान्ड आन्दोलनको प्रेरक तत्व वा सूत्रधार भनेको  कुन चाहिँ हो? नागाल्यान्डको जङ्गलमा स्वाधिनताको अधिकारका लागि युद्ध लड्दा घाइते भएको नागाको भनाइ हो वा नेपाल भारत मैत्री तथा शान्ति सन्धि १९५० को धारा ७ हो भन्ने दोमन हुन सक्ला तर यसको सही उत्तर खोज्ने जिम्मा यो लेख पढ्नेहरुकै हातमा छ।

डीआर कोइराला

कोइराला नेपाल-भारतमामिलाका जानकार लेखक हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]