|

डडेल्धुराः सुदूरपश्चिमका पहिलो संक्रमित जनप्रतिनिधिले कोरोनालाई जितेका छन्। कैलालीको गोदावरी नगरपालिका-१ का ४१ वर्षीय वडाध्यक्ष शर्मानन्द भट्ट कोरोनालाई जितेर घर फर्किएका हुन्। 

भट्ट कोराना सचेतना र उद्दारका लागि नगरपालिकाले गठन गरेको टास्क फोर्सका संयोजक समेत रहेका थिए। चैत ११ गतेदेखि नै भारत र अन्य जिल्लाबाट आएकाको उद्धारमा लागेका उनको जेठ २० गते स्वाब संकलन गरिएको थियो। जेठ २४ गते सेती प्रादेशिक अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण देखिएपछि १४ दिनसम्म आइसोलेसनमा बसेका भट्टको दुईपटक पिसीआर परीक्षण नतिजा नेगेटिभ आएको थियो। संक्रमण नदेखिएपछि आइतबार भट्टलाई गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँद, उपप्रमुख रत्ना कडायत र नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीलगायतले फूल दिएर बिदाइ गरे। 

'मनोबल उच्च राखौं, कोरोनालाई सजिलै जितिन्छ'

१४ दिनको आइसोलेसन बसाइपछि कोरोना जितरे घर फर्कने क्रममा भट्टले संक्रमण भएपछि आफूलाई हौसला दिने सबैलाई धन्यवाद दिए।

‘अरुको उद्धारमा खटिएकै समयमा म पनि संक्रमित हुन पुगें, अहिले संक्रमणमुक्त हुँदा आफूलाई उच्च मनोबल राख्न प्रेरित गर्ने नगरप्रमुख, उपप्रमुख, स्वास्थ्य शाखा लगायत मिडिया, फोन, सामाजिक संजालमार्फत हौसला दिने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु,’ संचारकर्मीहरूसँग कुरा गर्दै उनले भने, 'उच्च मनोबल नै कोरोना जित्ने सबैभन्दा ठूलो आधार हो, संक्रमण हुँदैमा नआत्तिऔं।'

आफू संक्रमित भएपनि उच्च मनोबलका साथ आइसोलेसनमा बसेको र सो क्रममा नियमित शारीरिक अभ्यास गरेको,  गुर्जो, हल्दी (बेसार) र अदुवाजस्ता सामग्री हालेर तातो पानी दैनिक पिउने  गरेको भट्टले बताए। उनले भने, ‘समयमै स्वास्थ्य संस्थामा गएर यसको जाँच गर्न गरी उपचार प्रकृयामा जानुपर्छ, उच्च मनोबलका राखेर कोरोनालाई पराजित गर्नुपर्छ।' संक्रमण बढिरहेकाले सुरक्षित भएर घरमै बस्न उनले नगरवासीलाई आग्रह गरेका छन्।

आइसोलेसनमा बस्दा आफूलाई खासै स्वास्थ्य समस्या नदेखिएको र एक दिनमात्रै स्वास फेर्न अलिकति गाह्रो, तर लामो स्वास लिने र तातो पानी पिउने गरेपछि त्यो समस्या आफैँ निको भएको उनले जानकारी दिए। ‘जेठ २८ गते मलाई स्वास फेर्न गाह्रो भयो, म त्यो बेला अलि अत्तिएको थिएँ,’ उनले भने, 'त्यसपछि उच्च मनोबलका साथ अघि बढें र कोरोनालाई हराएँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.