'आत्मालोचना गरेपनि सुध्रिएनन्‌, अब उम्कन पाउँदैनन्‌'

|

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (बुधबार) बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे सुरू हुने बैठक पार्टी अध्यक्ष एवम्‌ प्रधानमन्त्री ओलीका लागि निकै भारी पर्ने देखिएको छ। 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले कहिले स्वास्थ्य समस्या त कहिले कोरोना महामारीलाई कारण देखाएर सचिवालय बैठकसमेत स्थगित गर्ने गरेका थिए। निरन्तर दबावपछि बल्लतल्ल बैठक तय भएको हो। बैठक बस्ने भएपछि नेकपाका नेताहरूले आफ्ना एजेण्डा सफल पार्न भेटघाट तीव्र पारिरहेका छन्‌।

​बैठकका एजेन्डाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भइसकेको छ। भेटवार्ताको क्रममा बैठक र अन्य समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताए। 

मुख्यगरी यतिबेला नेकपाभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवाद छेडिएको छ। नेकपाभित्र विवाद देखिएकै कारण एमसीसी विचाराधीन अवस्थामा संसदमै थन्किएको छ। पार्टीभित्र प्रधानमन्त्री र उनको समूहको कार्यशैलीलाई लिएर निकै अघिदेखि विवादको जरो गाडिएकै छ। पार्टीलाई तीव्र विवादले गिजोलिरहेको बेला बस्न लागेको स्थायी कमिटी बैठकले महत्वपूर्ण निर्णय लिन सक्ने नेताहरूले बताउँदै आएका छन्। 

यतिखेर नेकपाभित्रको विवादलाई भुसको आगोसँग तुलना गर्ने गरिएको छ। यो विवाद विवाद आज (बुधबार) बस्न लागेको स्थायी कमिटी बैठकमा छताछुल्ल हुने संकेत असन्तुष्ट नेताहरूले दिइरहेका छन्‌। 

प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमणकै बीच वैशाख ८ गते पार्टी विभाजनसम्बन्धी अध्यादेश जारी गरेका थिए। त्यसयता ओलीसँग अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको नेताहरू थप असन्तुष्ट बनिरहेका छन्। प्रधानमन्त्रीले पार्टीको पद्धति र सिद्धान्तलाई लत्याएर आफूखुसी चलेको भन्दै नेता नेपाल समूह पनि ओलीबाट रुष्ट बनेको हो। 

असन्तुष्ट पक्षको पुरानै अडान

‘पार्टीभित्र आफू विरुद्ध घेराबन्दी भइरहेको बेलामा हामीले बैठकको माग गरेका थियौँ, तर प्रधानमन्त्रीज्यूले बैठक छल्ने धेरै प्रयत्न गर्नुभयो,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘सचिवालयमा उहाँले आत्मालोचना गरेपछि पनि कार्यशैलीमा परिवर्तन भएको छैन, त्यसैले बैठकमा हामीले उठाएका सबै विषयवस्तुको जवाफ दिनुपर्छ, पन्छिन पाउनुहुन्न।’ 

प्रधानमन्त्री ओलीका कार्यशैलीबाट रुष्ट बनेको नेताहरूले बैशाख १० गते नै लिखित रुपमा स्थायी कमिटीको बैठक माग गरेको थिए। प्रधानमन्त्री ओलीले आफू अल्पमतमा परेको ठहर गर्दै बैठक छल्ने प्रयन्त गरिरहे।

दाहाल–नेपाल समूहका अष्टलक्ष्मी शाक्य, मात्रिका यादव, मुकुन्द न्यौपाने, भीम रावल, मणि थापा, हरिबोल गजुरेल, रघु पन्त, लीलामणि पोखरेल, सुरेन्द्र पाण्डे गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देव गुरुङ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, बेदुराम भुषाल, भीम आचार्य र पम्फा भुषालले बैठक तत्काल राख्नुपर्ने माग गरेका थिए। 

बैठकको रणनीति तयार गर्न यी नेताहरू बेग्ला बेग्लै छलफलमा जुटिरहेका छन्। नेकपाभित्र अहिले प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र नेता नेपालका गरी प्रमुख तीन गुट देखिन्छ। तर, प्रधानमन्त्री ओलीको कार्यशैलीका कारण दाहाल-नेपाल समूह एकजुट भएका छन्।   

बहुमत पुर्‍याउले खेल!

सत्ताधारी दल नेकपालाई अमेरिकी परियोजना (एमसिसी)ले पनि गिजोलिरहेको छ। यसो हुनुका पछाडि अर्थमन्त्री डा. युवराज खतिवडाको जोडबलले काम गरेको छ। पश्चिमा मुलुकका विकासे संस्थासँग निकै निकट मानिने खतिवडाले एमसीसीकै लागि चीनले अघि बढाएको बेल्ट एण्ड रोड इनिसियटीभ (बीआरआई) का काम अड्काएको आरोप लागिरहेको छ। अर्कातर्फ एमसीसीमा प्रत्यक्ष/परोक्ष संलग्न देखिएकाहरूले यो परियोजना स्वीकृत नगरे नेकपालाई विकासविरोधी करार गर्ने अवसर कुरेर बसिरहेका छन्‌।

त्यसैले पनि प्रधानमन्त्री ओली एमसीसी पारित गर्नुपर्ने अडानमा छन्। सम्झौताअनुसार यही असार १६ गतेभित्रमा एमसीसी संसदबाट पास गराउनुपर्ने हुन्छ। तर, पार्टीभित्रको तीव्र विवादका कारण यो अघि बढ्न सकेको छैन। 

नेकपामा एमसीसी अमेरिकी इन्डो प्यासिफिक रणनीतिको अंश हो/होइन भन्नेमा विमति भइरहेको छ। एमसिसीको विषयले पार्टी दुई धारमा विभाजित हुन पुगेको छ। भारतसँगको महाकाली सन्धिमा जस्तै अहिले नेकपाभित्र एमसीसी समर्थक र विरोधीका दुई कित्ता प्रष्ट देखिएको छ।  

प्रधानमन्त्री ओली एमसिसीको पक्षमा भएपनि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरू विपक्षीमा उभिएका छन्। उनीहरू अमेरिकासँगको सम्झौता केही परिमार्जन गरेर मात्रै अगाडि बढ्नुपर्ने पक्षमा छन्।  

पार्टीको माघ १५ देखि १९ गतेसम्मको बैठकले अध्ययन कार्यदलले २० दिन लामो अध्ययनपछि फागुन ९ गते अध्यक्षद्धय ओली र दाहाललाई सम्झौताका शर्त संशोधन गर्नुपर्ने सुझाव दिएको थियो। तर कार्यदलले दिएको प्रतिवेदनमाथि प्रधानमन्त्री तथा अध्यक्ष ओली र उनी पक्षधरले हलुका टिप्पणी गर्ने गरेका छन्‌।

त्यसो त प्रधानमन्त्री ओलीले पनि स्थायी कमिटीमा एमसीसीबारे आफ्नो पक्षमा मत बढाउन असन्तुष्ट पक्षका केही नेताहरूसँग छलफल गरेका छन्। स्रोतका अनुसार प्रधानमन्त्री ओली र उनी निकट नेताहरूले स्थायी कमिटी सदस्यहरू देवेन्द्र पौडेल, मणि थापा, टोपबहादुर रायमाझी लगायतका नेताहरूसँग यसबीचमा बाक्लो भेटघाट गरेका थिए।

अफ्ठ्यारोमा ओली

प्रधानमन्त्री ओली एमसीसी विवादमा सचिवालयभित्रै अल्पमतमा छन्। उनी एमसीसी संसदबाट बिना अवरोध पारित गराउन चाहन्छन्। तर, अध्यक्ष दाहालसहितका नेताहरू एमसीसी सम्झौतामा परिमार्जन गर्नुपर्ने अडानमा छन्‌।

ओलीको पक्षमा महासचिव बिष्णु पौडेल र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल मात्रै छन्। तर, अध्यक्ष दाहालसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले एमसीसी सम्झौता परिमार्जन नगरी हुबहु अघि अघि बढ्न नदिने अडान लिइरहेका छन्‌। गृहमन्त्री रामबहादुर थापा 'बादल'ले पनि एमसीसीका प्रावधान मान्य नभएकाले संशोधन हुनुपर्ने यसअघि नै बताएका हुन्‌।

​प्रधानमन्त्री ओलीले एमसिसीको पक्षमा बहुमत पुर्‍याउन उपाध्यक्ष गौतम र गृहमन्त्री थापामाथि अपेक्षा राखेका उनी थिए। आफ्नो कित्तामा उभ्याउन उपाध्यक्ष गौतमलाई ओलीले कोरोना संकट टरेपछि प्रधानमन्त्री बनाउने आश्वासन पनि दिन भ्याएका थिए। यस्तो आश्वासन दिएपछि आफूलाई गौतमले समर्थन गर्नेमा प्रधानमन्त्री विश्वस्त थिए। 

तर, गौतमले आफ्नो सचिवालय बैठकमार्फत प्रधानमन्त्रीको पक्षमा नरहेको स्पष्ट पारे। त्यसपछि प्रधानमन्त्री ओलीको अन्तिम विकल्पको रुपमा गृहमन्त्री थापालाई नै लिएका थिए। उनले गृहमन्त्री थापालाई लिएर आइतबार राष्ट्रपति भेट्न शितल निवास पुगे। तर, यसअघि प्रधानमन्त्रीको साथ दिएपनि बादलले एमसिसीको पक्षमा साथ दिन नसक्ने जनाउ गरे। 

यी सबै पृष्ठभूमिमा आज बस्न लागेको नेकपा स्थायी कमिटी बैठक फेस गर्नु प्रधानमन्त्री ओलीका लागि 'फलामको चिउरा चपाउनु सरह' हुने देखिन्छ।

एजेण्डा छलफलको क्रममा छः महासचिव पौडेल 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भएको भेटवार्तापछि डाकिएको बैठकका एजेण्डाबारे मंगलबार बेलुकीसम्म पनि नेकपाका नेताहरू दौडधुपमा थिए। महासचिव विष्णु पौडेलका अनुसार ‘पार्टीभित्र देखिएका समस्या समाधान, सरकार र पार्टी नेतृत्वको विषयमै छलफल केन्द्रीत’ हुनेछ। 

‘बैठकको एजेण्डा पुर्ण रुपमा तय भइसकेको छैन, प्रधानमन्त्री र अध्यक्षबीच पनि छलफल भइरहेको छ,’ मंगलबार बेलुकी उनले थाहाखबरसँग भनेका थिए, ‘हामीले बैठकमा सबै विषयलाई समेट्नेगरी एजेण्डा तयारी गरिरहेका छौँ।’

पौडेलले अध्यक्षद्वयबीच छलफल भैरहेको र सबै विषय समेट्नेगरी एजेण्डा तय गरिएको बताएपनि नेकपा स्थायी कमिटी बैठक घिसिपिटी छलफलमा नअल्झिने देखिन्छ। सरकार र पार्टी नेतृत्वको विषय, अमेरिकी परियोजना एमसीसी र कोरोना महामारीमा सरकारको भूमिकालाई लिएर नेताहरू आक्रोशमा छन्‌। आजको बैठकमा ओलीका लागि अनुकूल विषय भनेका भारतसँगको सीमा विवाद र कार्य प्रगतिमात्रै हुनेछ। कोरोना नियन्त्रणका स्वास्थ्य सामाग्री खरिद गर्दा भएको अनियमितता ढाकछोप गर्न पनि प्रधानमन्त्रीलाई सकस पर्नेछ।​

'एजेन्डाबारे जानकारी छैन'

बैठकको मिति तय भएको जानकारी आएपनि बैठकको एजेन्डाबारे जानकारी नआएको स्थायी कमिटी सदस्य मणि थापा बताउँछन्। उनले भने, ‘बैठकको बारेमा जानकारी आएको थियो, तर एजेन्डाबारे जानकारी आएको छैन।’

'पार्टीभित्र देखिएका समस्या, एमसीसी, सीमा समस्या, कोरोना भाइरस लगायतको बिषयमा बैठकले प्राथमिकता पाउला,’ उनले थाहा खबरसँग भने, ‘हामीले पहिल्यै देखि बैठकको माग गर्दै आएका थियौँ। बैठक बोलाइएको छ, बाँकी छलफल त्यहीँ हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.