|
फाइल फोटो

काठमाडौं : पर्याप्त क्षमताका पीसीआर मेसिन नहुँदा प्रदेशमा १ मा एक हजारभन्दा बढी स्वाब नमुना परीक्षण गर्न सकिएको छैन। 

प्रदेशभर हाल पीसीआर मेसिनसहितका तीनवटा प्रयोगशाला छन्‌। सरकारले दैनिक १० हजार जनामा कोरोना संक्रमण भए/नभएको परीक्षण गर्ने लक्ष्य राखेको छ। तर प्रदेशका तीनवटा प्रयोगशालामा रहेका पीसीआर मेसिनको क्षमता कम भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने प्रयोगशालाका ईञ्जार्जहरू बताउँछन्। 

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दैनिकजसो ३०० भन्दा बढीको कोरोना परीक्षण भइरहेको प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले जानकारी दिए। उनका अनुसार दैनिक ३०० हाराहारीमा स्वाब संकलन गरेर प्रयोगशालामा आइरहेको छ। प्रदेश १ को १४ वटा जिल्ला र २ नम्बर प्रदेशको सप्तरी, सिराहा र धनुषा गरी तीनवटा जिल्लाबाट स्वाब परीक्षणका लागि आउने गर्छ। प्रदेश २ का जिल्लाबाट समन्वय नै नगरी परीक्षणका लागि स्वाब आउँदा समस्या परिरहेको सापकोटा बताउँछन्‌।

सरकारले दैनिक तीन सिफ्ट गरेर १० हजार जनाको कोरोना परीक्षण गर्ने लक्ष्य राखेको भएपनि प्रतिष्ठानमा भएको एउटा पीसीआर मेसिनले मात्र नपुग्ने प्रवक्ता सापकोटाले बताए। 'पीसीआर थप्ने भएमात्र परीक्षणको संख्या बढाउन सकिन्छ, प्रयोगशालामा अहिले पनि ५०० भन्दा बढी स्वाब नमुना परीक्षण गर्न बाँकी नै छ,' सापकोटाले थाहाखबरसँग भने, ' अहिले संकलन गरेर पठाइएकाको मात्र परीक्षण गरिएको हो, नयाँको गर्नुपर्ने अवस्था आयो भने परीक्षण गरिरहेको मेसिनको क्षमताले धान्नै सक्दैन।'

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा दैनिक २०० हाराहारीमा स्वाब नमुना परीक्षण भइरहेको प्रयोगशालाका इन्चार्ज डा. कामना शर्माले जानकारी दिइन्‌। उनका अनुसार प्रयोगशालामा अहिले पनि ५०० स्वाब परीक्षण गर्न बाँकी नै छ। शर्माले भनिन, 'परीक्षणको संख्या र दायरा बढाउने भनिएको छ, तर परीक्षण गरिने मेसिनको क्षमता कम छ, म्यानअल मेसिनले दिनमा २०० भन्दा बढी परीक्षण गर्न सक्दैन, अटोमेटिक नयाँ मेसिनले दिनमा हजार जनाको स्वाब परीक्षण गर्न सक्छ।'

यसैगरी, प्रदेश १ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा दैनिक ७०० स्वाब नमुना परीक्षण भइरहेको छ। प्रयोगशालाका निर्देशक जयन्द्र यादवले दिएको जानकारी अनुसार संकलन गरिएका ६०० वटा स्वाब नमुना परीक्षण गर्न बाँकी छ। ल्याबमा भएको पीसीआर मेसिनको क्षमता कम भएकोले पर्याप्त मात्रामा परीक्षणको संख्या बढाउन नसकिएको यादव बताउँछन्‌।

'पीसीआर मेसिनको क्षमता बढाउनसके परीक्षण संख्या बढ्छ,' डा. यादवले भने, 'मेसिनको क्षमता बढने बित्तिकै यस प्रयोगशालामा दैनिक १५ सय स्वाब नमुना परीक्षण गर्न सकिन्छ।' प्रदेश सरकारले परीक्षण संख्या बढाउन नयाँ मेसिन खरिद गर्नुपर्ने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.