भारतले बनाएको काठेपुल भत्काइयो, नेपालबाट हुने चोरी निकासी रोकियो

|

दार्चुला : कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएपछि भारतीयहरु हच्‍किन थालेका छन्। नेपालको बलियो उपस्थिति नहुँदा त्यस क्षेत्रमा चलेको भारतीय नागरिकको मनपरी पनि बिस्तारै घट्दै गएको छ।

सशस्त्र प्रहरीले ब्याँस गाउँपालिकाको छाङ्‍रुमा बसेर कालापानी क्षेत्र हुँदै तिङ्‍करसम्म गस्ती बढाएपछि चोरी निकासीका लागि नेपाली भूमिमा छिर्ने भारतीयहरु सुस्ताएका छन्। 

सशस्त्र प्रहरीले गस्ती गरेपछि गुञ्‍जीका स्थानीय बासिन्दाले कालापानी जान भारतीय पक्षले बनाएको अस्थायी काठेपुल पनि भत्काइदिएका छन्। 

सशस्त्र प्रहरीको गस्ती पुगेका बेला स्थानीयबासीले नेपाली भूमिमा भारतीय पक्षले बनाएको काठे पुल भत्काइदिएका छन्। गुञ्‍जी ब्याँस गाउँपालिकास्थित नेपाली गाउँ हो। भारतले अतिक्रमण गरेर अहिले नेपाली गाउँहरु गुञ्‍जी, नाभी र कुटीमा आफ्नो उपस्थिति जनाएको छ।

छाङ्‍रुमा बिओपी स्थापना भएपछि जेठ १४ गते गस्ती गर्दै सशस्त्रको टोली त्यहाँ पुगेको थियो। त्यो काठे पुल भएर तल्लो कौवा र माथिल्लो कौवा क्षेत्रको काठसहितको वन पैदावर भारतीयले लाने गरेका थिए। तर सशस्त्रले गस्ती बढाएपछि त्यो काठेपुल भत्काइएको हो।

सशस्त्रले नियमित गस्ती गर्न थालेयता भारतीय क्षेत्रबाट अहिलेसम्म कोही पनि नेपालतर्फ प्रवेश गर्न नपाएको दार्चुलाको खलंगास्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका गुल्मपति एबम् डिएसपी डम्बरबहादुर बिस्ट बताउँछन्। यसअघि गुञ्जी र बुदी क्षेत्रका भारतीयले नेपालतिरको वन पैदावार प्रयोग गर्थे। सशस्त्रको गस्तीका कारण यो वर्ष उनीहरु नेपाल आउन पाएका छैनन्।

गुल्म बस्दै

ब्याँस गाउँपालिकाको छाङ्‍रुमा अबको केही महिनामै सशस्त्र प्रहरीको गुल्म बस्‍ने भएको छ। डिएसपी विष्टका अनुसार गुल्म स्थापनाको तयारी तीव्र गतिमा अघि बढाइएको छ। 

'छाङ्‍रुमा गुल्म स्थापना भएपछि भारततिर कौवा क्षेत्रमा र चिनतर्फ तिंकरमा बोर्डर आउट पोस्ट राखिनेछ', विष्टले भने, 'अहिले पनि बिओपीको टोलीले तिंकरसम्म पुगेर त्रिदेशीय सीमा क्षेत्रमा गस्ती गरिरहेको छ।'

बिओपी थपिँदै

दार्चुलाका अन्य तीन ठाउँमा पनि बोर्डर आउट पोस्ट राखिने भएको छ। लेकम गाउँपालिकाको लाली, मालिकार्जुन गाउँपालिकाको जौलजिबी र ब्याँस गाउँपालिकाको दुम्लिङ्ग्मा बिओपी राख्‍ने तयारी भएको छ। यी तीनवटै क्षेत्र महाकाली किनारमा पर्छन्। महाकाली नेपाल-भारत सीमा नदी हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.