|

काठमाडौं : झण्डै तीन महिनामासम्मको लकडाउनले अधिकांश व्यवसायीहरूको व्यापार चौपट भएको छ। काठमाडौं उपत्यकाका केही व्यापारीहरू पलायन हुने अवस्थामा पुगेका छन्।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि सुरु भएको लकडाउन करिब असार लागेपछि उपत्यकामा खुकुलो भएको छ। अन्य क्षेत्रका पसलहरू खुलिसक्दा पनि काठमाडौंको प्रसिद्ध पर्यटकीय ठमेल बजारमा भने अझै चहलपहल बढ्न सकेको छैन।

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै यहाँका पसलहरू खुले पनि पहिलेको जस्तो चहलपहल हुन नसकेको व्यापारीहरू बताउँछन्। ठमेल क्षेत्रमा स्टोन पसल गर्दै आएका सञ्चालक ज्याक मोहम्मदले भने, 'सरकारले लकडाउन खुकुलो बनाएसँगै पसल खोले पनि चार दिनदेखि अहिलेसम्म केही बिक्री भएको छैन,' उनले भने।

बन्दका बेला तीन महिनाको घरभाडा पनि मासिक ३० हजारका दरले घरधनीलाई बुझाउँदै आएको उनले बताए। 'तीन महिनासम्म पसल नचलेर आम्दानी शून्य छ,'थाहा खरबसँग कुरा गर्दै उनले भने,'घरधनीलाई बुझाउने पैसासमेत छैन।'

पहिलेको जस्तो ठमेलमा व्यापार हुन छाडिसकेको र यहाँ भाडा मात्र महँगो भएकोले अन्य ठाउँमा पसल सञ्चालन गर्नका लागि सोच बनाइरहेको मोहम्मदले बताए। अधिकांश पसलहरु विदेशी पर्यटकलाई लक्षित गरी खोलिएको र अब धेरै पसलहरू ठमेल क्षेत्रबाट पलायन हुनुपर्ने अवस्था आएको उनले सुनाए।

'सरकारले ठमेलको व्यापारीलाई सम्बोधन गर्नुपर्छ'

यस्तै, यस क्षेत्रमा व्यापार गर्दै आएका गोविन्द पन्त यस क्षेत्रको पहिचान बनाउने काम यहाँका साना-साना पर्यटकीय पसलले गरेको र अहिले अप्ठेरो पर्दा राज्य र स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउँछन्। संकटको बेला सरकारले नहेरे व्यवसायीहरू यहाँबाट पलायन हुनुपर्ने अवस्था आउने उनको दुखेसो छ।  उनले भने,'आज मात्र ठमेल क्षेत्रमा व्यापार गरिरहेका ४ सय ८१ सटर खाली गरेको पनि सुनेको छु। अब ठमेलको व्यापारीलाई बेवास्ता गर्ने हो भने वसन्तपुर जस्तै हुन्छ।'  उनले हाल मासिक ६० हजार घरभाडा तिरिरहेका छन्। 

स्थानीय र केन्द्र सरकारले ठमेल क्षेत्रको लागि छुट्टै प्याकेज नल्याउने भने यो ठाउँ छिट्टै तालाले कैद गरेको बजार हुने उनको विश्वास छ। व्यापारीको समस्याको समाधान गर्नको  लागि स्थानीय नागरिक बढी गम्भीर हुनुपर्ने उनको भनाइ छ। उनले भने,'ठमेलमा व्यापार गर्ने अधिकांश व्यापारी बाहिरको रहेका छन्। यहाँको व्यापारी प्रति स्थानीय पनि पूर्वाग्रही रहेको कारणले पनि यस्तो हुन सक्छ।'

'५० प्रतिशत घरभाडा छुटको लागि पहल'

ठमेलको पहिचान नगुमोस् भन्‍नका लागि स्थानीय घरधनी र व्यापारीलाई राखेर घरभाडाको लागि समन्वय गरिरहेको ठमेल पर्यटन परिषदका पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिए। नेपालको ठमेल क्षेत्रका व्यापारी र स्थानीयलाई मात्र अप्ठेरो नपरी मुलुकभरको व्यापारी र घरधनीलाई अप्ठेरो परेको उनले बताए।

'ठमेल पर्यटन परिषदको पहलमा कतिपय घरधनीले ५० प्रतिशत घरभाडा छुट दिने घोषणा गरिसकेका छन्,' उनले भने,' तीन महिनाको छुट दिएर मात्र नहुने भन्दै कतिपय व्यापारीहरूले १ वर्षसम्मको लागि पसल पनि बन्द गरिसकेका छन्। १ सयको हाराहारीमा व्यापारीले ठमेल पनि छोडिसकेका छन्। 'पहिलो चरणमा तीन महिना र ६ महिनाको घरबहाल छुट मिलाउने व्यवस्था तयार गरिरहेको उनले बताए। 'ठमेलमा रहेका घरधनीलाई र व्यापारीलाई मिलाएर राख्नको लागि हरसम्भव प्रयास भइरहेको छ,' उनले भने।

'घरबहाल करमा छुट दिन्छौँ'

ठमेलको पहिचान जोगाउनको लागि व्यापारी र घरधनीको लागि काठमाडौं महानगरपालिकाले छुट्टै प्याकेज ल्याउन लागेको महानगरका २६ नम्बरका वडा अध्यक्ष खेम तिवारीले बताए। व्यापारी उठेर गए ठमेलको पहिचान हटेर उपत्यकाको अन्य ठाउँ जस्तै हुने उनको दाबी छ।

महानगरपालिकाले घरधनी र व्यापारीलाई सँगसँगै राखेर घरभाडाको मिलाउनको लागि समन्वय गरिरहेको उनले बताए। 'महानगरपलिकाले घरधनीको लागि घर-जग्गा र बहाल करमा छुट दिनको लागि तयार गरिरहेको छ,' उनले भने,' महानगरको बजेटमा नै स्थानीय व्यापारी र घरधनीको लागि केही नयाँ कार्यक्रम ल्याउन लागिएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.