|

जनकपुरधाम : डाक्टरले उपचार गर्न नमान्दा प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सी वार्डमै उपचार नपाएर एक दलित किशोरको मृत्यु भएको घटना सार्वजनिक भएको छ।

हंसपुर नगरपालिका ७ का अन्दाजी १६ वर्षीय राजु सदायको मृत्यु भएको हो। उनी इमरजेन्सी वार्डको बेडमा १० घण्टासम्म छटपटाएका थिए। अस्पताल प्रशासनले न उनका परिवारका कसैलाई भेट्न दिए न डाक्टर उपचार गर्न पुगे। छटपटाएर बेडबाट तल खसेपछि उनको मृत्यु भयो।

घटना सोमबार अबेर रातिको हो। सदाय सोमबार दिउँसो ४ बजेसम्म प्रादेशिक अस्पतालमै कोरोना संक्रमितको उपचारका लागि बनाएको आइसोलेसन वार्डमा भर्ना भएका थिए। उनको अवस्था बिग्रिएको र कोरोना रिपोर्ट नेगेटिभ आएपछि उपचारका लागि इमरजेन्सी वार्डमा लगियो। तर कुनै डाक्टरले उनको उपचार गर्न मानेनन्।

अस्पतालले लापरबाही गर्‍यो

मृतकका बुबा असे सदायले डाक्टरले उपचार गर्न नमान्दा छोरा गुमाउनु परेको पीडा पोखे। उनले रुँदै भने, ‘अस्पतालको इमरजेन्सीमा लगेर त्यतिकै छाड्यो। डाक्टरले चेकजाँचसम्म गरेन। यतिसम्म कि छोरा बेडबाट लडेर भुइँमा खस्दा पनि कसैले वास्ता गरेनन्। भुइँमै छटपटिएर उनले प्राण त्यागे।’

उनका अनुसार भारतको अहमदावादबाट जेठ ३ मा छोरा राजु सदाय घर आएका थिए। लकडाउनका कारण उनलाई सीमा–नाकासम्म आइपुग्न ८ दिन लागेको थियो। घर आएलगत्तै नगरपालिकाले उनलाई नौवाखोर प्रसाहीस्थित क्वारेन्टाइनमा राख्‍यो। १७ दिन क्वारेन्टाइनमै बसेका उनलाई झाडापखाला लागेपछि प्रादेशिक अस्पतालको आइसोलेसन वार्ड पुर्‍याइयो।

आइसोलेसन वार्डमा राखिएको १० दिनपछि उनको स्वाब संकलन गरी कोरोना परीक्षण गरियो। ३ दिनपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आयो। त्यति बेलासम्म उनको अवस्था गम्भीर भइसकेको थियो। लगत्तै उनलाई सोमबार दिउँसो अन्दाजी ४ बजे इमरजेन्सी वार्डमा लगियो। तर डाक्टरले उपचार गर्न नमान्दा उनको मृत्यु भएको पीडित परिवारको आरोप छ।

मृत्युको कारण बताउँदैन अस्पताल

आइसोलेसन वार्डका संयोजक डा. जामुन सिंहले पनि राजु सदायको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेका छन्। तर उनको मृत्युको कारणबारे केही बताउन चाहेन। घटनाबारे बुझ्न प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादबसँग सम्पर्क गर्दा हुन सकेका छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.