स्थानीयले गहना बेचेर दिएको पैसा डुब्यो

|

ओखलढुंगा : ओखलढुंगाको मोलुङ गाउँपालिका-७ मा सञ्चालित ७ मेगावाट क्षमताको मोलुङ हाइड्रोले करिब दुईहजार उपभोक्तालाई झुक्याएको छ। हाइड्रोमा लगानी गरे मुनाफा पाइने लोभ देखाउँदै संस्थापक शेयर रकम संकलन गरेर दुईवर्षदेखि उपभोक्तालाई नाफा घाटाको जानकारी नदिई बेखबर बनाएको हो।

कम्पनीले गाउँपालिकाको ८ वटा वडाको १ हजार ८ सय ७५ जना उपभोक्ताबाट २ करोड ५५ लाख २६ हजार रकम संकलन गरेको थियो। रकम संकलन गर्न कम्पनीले जनप्रतिनिधि परिचालन गरेको थियो। सर्वसाधरणबाट वडा कार्यालयको माध्यमबाट संस्थापक सेयर रकम संकलन गरिएको थियो। कम्पनीले सर्वसाधारणसँग २०७४ सालदेखि रकम संकलन गरेको भए पनि अधिकांशलाई रकमको रसिद दुई वर्षपछि मात्र २०७६ सालमा दिइएको थियो।

गहना बेचेर दिएको पैसा डुब्यो

शेयर खरिद गर्ने अधिकांश सर्वसाधारणहरु शेयर के हो भन्ने थाहा नपाउने वर्गका रहेका छन्। कतिपयले शेयर हालेबापत फाइदा हुन्छ भन्दै घरमा पालेको चौपाया र गहना बेचेर लगानी गरेको तर आजसम्म कम्पनी बेखबर रहेकोकारण आफूहरू अन्योलमा रहेको स्थानीयको भनाइ छ।

आफूले लगानी गरेको रकम कम्पनीले के गर्दैछ? त्यसबापत हामीले कहिलेदेखि के पाउँछौँ? भनेर जान्न पाउने अधिकार भए पनि कम्पनीले आजसम्म आफूहरूलाई कुनै जानकारी नगराएको स्थानीय सन्तोष दाहालले बताए। 'कतै सोधखोज गर्दा कसैले केही भन्दैनन्, कम्पनीले आएर जानकारी दिँदैन' उनले दुखेसो सुनाए।

कम्पनीले त्यस भेगमा सञ्चालित दुईवटा माइक्रोहाइड्रो आफू मातहत लिएर उपभोक्ताको लगानी रकम संस्थापक शेयरमा परिणत गर्ने भनेर जिम्मा लिएको थियो। रामपुरस्थित १०० किलोवाटको माइक्रोहाइड्रोकै ६ सय ५० हाराहारीमा उपभोक्ता रहेका छन्। उनीहरुको प्रति उपभोक्ता १४ हजार रकम संस्थापक शेयरमा लगाइदिने भने पनि त्यस बापतको प्रमाण आजसम्म नदिइएको स्थानीयको गुनासो छ।

हर्कपुरमा रहेको ४० किलोवाट क्षमताको माइक्रोहाइड्रोको उपभोक्ताको पनि प्रतिउपभोक्ता १८ हजारको दरले शेयर रकममा परिणत गर्ने प्रतिबद्धता कम्पनीले जनाएको थियो। तत्कालीन माइक्रोहाइड्रोमा सरकारी अनुदान दुईकरोड भन्दा बढी रहेको थियो। सरकारी रकमको लगानी कम्पनीले कसरी व्यहोर्ने भन्ने विषय थाहा नभएको स्थानीयले बताए।

शेयरको पैसा कम्पनीमा लगानी गरेको दाबी

मोलुङ हाइड्रोपावर कम्पनीका संचालक मध्येका नवीन महर्जनले संस्थापक शेयर बापतको रकम सबै कम्पनीमै लगानी रहेको बताए। उनले उक्त रकमको सबै हिसाब किताब साधारणसभामार्फत लगानीकर्तालाई जानकारी दिने बताए। उनले आफूहरुले वैशाखमै साधारणसभाको मिति टुंगो गरेको भए पनि लकडाउनका कारण साधरणसभा हुन नसकेको बताए।  लकडाउन खुल्नासाथ एक महिनाभित्र साधारणसभा गरेर सबै जानकारी गराउने उनको भनाइ छ।

विद्युत उत्पादन हुन शुरु भएको डेढ वर्ष मात्र भएकोले अहिले मुनाफामा जान नसकेको उनले बताए। कम्तीमा ५ वर्षपछि मात्रै प्राप्त मुनाफा संस्थापक शेयर सदस्यहरुले पाउने उनको भनाइ छ।

संस्थापक शेयर धितोपत्रसँग जोडिँदैन

धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले संस्थापक शेयरको विषय धितोपत्र बोर्डसँग नजोडिने भएकोले शेयर सदस्य र कम्पनी बीचबाटै टुंगो लाग्नुपर्ने बताए। साधारण शेयरका लागि मात्र कम्पनीले धितोपत्र बोर्डबाट अनुमति लिनुपर्ने भएकोले त्यसअघिका विषयहरु आफ्नो कार्यालय मातहत नरहने उनले जानकारी दिए। केसीका अनुसार हालसम्म मोलुङ हाइड्रो प्रालिले साधारण शेयरका लागि अनुमतिको निवेदन दिइसकेको छैन।

मोलुङ हाइड्रोका संचालक नवीन महर्जनले समेत अहिलेको नियमअनुसार मुनाफामा जान थालेपछि मात्र साधारण शेयर आव्हान गर्न पाउने भएको र आफ्नो कम्पनी मुनाफामा गई नसकेकोले धितोपत्रमा अनुमतिका लागि नपुगेको बताए। कम्पनीले विद्युत उत्पादन गरेबापत गाउँपालिकालाई बुझाउनुपर्ने राजस्‍व तीन आर्थिक वर्षदेखि बुझाएको छैन।

मोलुङ गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालका अनुसार कम्पनीबाट असुल्नुपर्ने रकम ७ लाख पुगिसकेको भए पनि कम्पनीले आजसम्म गाउँपालिकालाई एक पैसा पनि बुझाएको छैन।

मोलुङ हाइड्रोपावर आयोजना निर्माणका लागि एनएमबी बैंक लगायतको १ सय ४० करोड रुपैयाँ लगानी देखाइएको छ। वर्खामा सात मेगावाट उत्पादन हुने र हिउँदमा ४ मेगावाट उत्पादन हुने भनिए पनि हिउँदका बेला दुईदेखि तीन मेगावाट मात्रै उत्पादन हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.