|

रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जाने गरि भएको घटनाका अभियुक्तमध्ये फरार ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

रुकुम जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गर्दै नियमानुसार गर्न आदेश गरेको हो। नवराजसहित ६ जनाको हत्यामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध मुद्दा दर्ता गरिए पनि हालसम्म २९ जना अभियुक्त पक्राउ परेका छन् । 

घटनापछि दर्ता भएको अभियोग पत्र र थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले यस्तो आदेश गरेका हुन्। 

अदालतको आदेशमा भनिएको छ ‘फरार प्रतिवादीहरू तुलाराम घर्ती, डिल्ली घर्ती,  क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढाका नाममा नियमानुसारको पक्राउ पूर्जी जारी गरि नियमानुसार गर्नू।’  
आदेशमा घटनाका २३ प्रतिवादीलाई मुद्दा पुर्पक्षको लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेसँगै कारागार चलान भएका छन्। 

एक लाख धरौटीमा छोड्न आदेश गरेका अर्का प्रतिवादी पनि धरौटी रकम बुझाउन नसकेपछि उनीहरुसँगै कारागार चलान भएका छन्। नवराज विककी प्रेमिका भनिएकी किशोरीकी आमा पनि धरौटी बुझाउन नसकेपछि जेल गएकी छन्।  यो घटनामा अन्य ३ जनालाई साधारण तारेखमा छोड्न आदेश भएको छ। 

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.