|

गुल्मी : गुल्मीदरबार गाउँपालिकामा कस्तो छ आमा कार्यक्रम ल्याएको छ। सुरक्षित मातृत्व, सुत्केरीको पोषण र बालस्वास्थ्यलाई प्राथमिकतामा राख्दै  आफ्नो, गर्भ र बच्चाको ख्याल गर्न सचेतनाका लागि गाउँपालिकाले कस्तो छ आमा कार्यक्रम ल्याएको हो।

आगामी आर्थिक वर्षका लागि पारित गरेको नीति तथा कार्यक्रममा सो कार्यक्रमलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष अशोक थापाले जानकारी दिए। गर्भवतीको स्वास्थ्य संस्थामा प्रसूति गराउन, बालस्वास्थ्य र पोषणलाई ध्यान दिन उक्त कार्यक्रमलाई प्राथमिकता दिएको थापाको भनाइ छ।

के कार्यक्रममा ?

कार्यक्रमअन्तर्गत सुरुमा गर्भवतीलाई घरमै गएर स्वास्थ्यकर्मीले भेट्ने, बधाई दिने र सम्झाउने गर्दछन्। गर्भवती भएको समयमा खानपानमा ध्यान दिनुपर्ने, हल्का हल्का मात्र कामहरु गर्ने र तनाब नलिने भन्दै सम्झाउने काम गर्छन्। 

गर्भवती भएको चौथो महिनामा स्वास्थ्यकर्मीहरुले फोन गरी भोलि तपाईको चेकजाँच गर्ने हो भन्दै स्वास्थ्य संस्थामा आउनका लागि आग्रह गर्दछन्। परीक्षणपछि गाउँपालिकाले एक क्यारेट अण्डा, आयोडिन नुन र नेलकटर कोसेली स्वरुप प्रदान गर्ने गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए। गर्भवतीलाई छैटौं, आठौं र नवौं महिनामा पनि गाउँपालिकाको कोसेली दिनेछ।

यस्तै, गर्भवतीको स्वास्थ्य अवस्थाबारे समय समयमा फोनमार्फत पनि बुझने कार्यक्रम रहेको स्वास्थ्य शाखाले जनाएको छ। यो क्रम सुनौला हजार दिनमा ३० पटकसम्म गरिने छ।

गर्भवतीलाई घरमा सुत्केरी हुन नदिनका लागि ख्याल गर्ने र अनिवार्य रुपमा स्वास्थ्य संस्थामा नै सुत्केरी गराउनका लागि यस कार्यक्रमले सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको छ।

गर्भमा रहेको बच्चाका बाबालाई चिट्ठी

गर्भवती भएपछि गर्भमा रहेको बच्चाको बाबालाई पनि चिट्ठी पठाइने गाउँपालिकाले जनाएको छ। गर्भवतीका श्रीमानको जिम्मेवारी, गर्भमा रहेका बच्चाले के कस्तो गर्छन् र बच्चाको बाबाको दायित्वलाई समावेश गरी चिट्ठी पठाइने यस कार्यक्रममा रहेको छ। यस्तै, गर्भवतीलाई मानसिक तनाब नदिने, खानपान र स्वास्थ्यबारे ख्याल गर्ने लगायत विषयबस्तु चिट्ठीमा रहने गाउँपालिकाले जनाएको छ।

श्रीमान घरमै भएको भए घरमै चिट्ठी वाचन गरेर सुनाउने र विदेशमा भएको भए फोनमार्फत वाचन गरेर सुनाउने कार्यक्रम रहेको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए।

गर्भवतीको घरमा हरियो झण्डा

गाउँपालिकाभित्रमा गर्भवती भएका घरमा हरियो झण्डा राखिने भएको छ। गर्भवती भएका घर पहिचान गर्न सहज होस् भनी हरियो झण्डा राख्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ। 

हरियो झण्डा राख्दा गर्भवतीको पहिचान हुने र स्वास्थ्यकर्मीहरुलाई पनि  गर्भवतीको घरमा जान सहज हुने पालिकाले जनाएको छ।

सुत्केरीपछि घरमै स्वास्थ्य जाँच

महिला स्वास्थ्य संस्थामा सुत्केरी भई घरमा गएपछि उनीहरुको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने भएको छ।

महिला र बच्चाको स्वास्थ्य  अवस्था बुझदै घरमै गएर उनीहरुको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको छ। 

बच्चाको तौल लिँदा दुईवटा अण्डा

स्वास्थ्य संस्थामा बच्चाको तौल लिन आउँदा उनीहरुलाई दुईवटा अण्डा दिने पनि गाउँपालिकाले जनाएको छ।

बच्चालाई अण्डा खुवाउनु पर्छ भन्ने बानी पार्नका लागि यस्तो अभियान लिएको गाउँपालिकाले जनाएको छ।

नौ लाख बजेट विनियोजन

यस कार्यक्रमका लागि तत्काललाई नौ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।

तत्कालका लागि नौ लाख बजेट विनियोजन गरेको र कार्यक्रमका लागि बजेट अभाव हुन नदिने पाण्डेले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.