सरकारी छाप पनि किर्ते बनाई प्रयाेग

|

बाँके : सरकारी कागजात किर्ते गरेर कर्जा लेनदेन मिलेमतो आरोपमा राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोक शाखाका प्रबन्धक ललितबहादुर शाहीलाई बाँके प्रहरीले पक्राउ गरेको छ। 

नेपालगन्ज उपमहानगरपालिका–११ भठीटोलका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले जग्गाको लालपुर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजात नक्कली बनाएर राष्ट्रिय वाणिज्य बैक, त्रिभुवन चोक शाखाबाट दुई करोड ऋण स्वीकृत गराएका थिए। जसबाट उनले एक करोड २५ लाख रुपैयाँ लिएको आरोपमा अनुसन्धान गर्न बैंकका शाखा प्रबन्धक शाहीलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष खड्काले बताए। 

किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा बैंकका प्रबन्धक शाहीको पनि संलग्ता देखिएपछि थप अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए। उक्त घटनामा बैंकका अरु कर्मचारीसँग पनि बयान लिने काम भइरहेको उनको भनाइ छ। सरकारी छाप, लेटर प्याड, हस्ताक्षर किर्तेको अनुसन्धान सकिएपछि प्रहरीले बैंकिङ कसुरको अनुसन्धान गर्ने जनाएको छ। 

बैंकिङ कसुरको अनुसन्धान हुँदा बैंकका माथिल्लो तहका कर्मचारी पनि तानिन सक्ने प्रहरीको आकलन छ। राष्ट्रिय बाणिज्य बैंकले २५ लाख भन्दा माथिको ऋण स्वीकृत गर्दा केन्द्रको अनुमति चाहिने व्यवस्था गरेको छ। 

जसगढले कसरी लिए कर्जा ?

प्रहरीका अनुसार जसगढले बैंकबाट कर्जा लिन चार वटा धितो राखेका छन्। त्यसमध्ये भवानीयापुर र उदयपुरका १९ र १५ धुर जमिन सक्कली भए पनि नेपालगन्ज–११ को चार–चार धुरको जमिन नक्कली पाइएको हो। 

उनले धितो राखेको चार–चार धुरका दुई वटा कित्ता अहिलेसम्म फेला नपरेको डिएसपी खड्काले बताए। ‘उक्त जमिनको सक्कल कागजात र लालपुर्जा र पेस भएको नक्साअनुसार जमिन फिल्डमा देखिँदैन,’ खड्काले भने। जसगढले जग्गाको लालपुर्जा, तिरो तिरेको रसिद, नक्सा पास, ट्रेस नक्सा, नक्सा कसरी बनाए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। मालपोत कार्याल, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेका छन्। 

उनले नक्कली धितो बनाएर बैंकबाट दुई पटक ऋण लिइसकेका छन्। ‘२२ मंसिर, ०७६ मा ५० लाख र २५ जेठ, ०७७ मा ७५ लाख कर्जा लिएका थिए। स्वीकृत भएको बाँकी रकम लिन नपाउँदै उनी पक्राउ परेका छन्,’ खड्काले भने। ऋण लिँदा पेस गरेको धितो नेपालगन्ज उपमहानगरपालिकामा रुजु गर्दा जसगढले कागजात किर्ते गरी नक्कली कागजात बनाएर बैंकमा पेस गरेको फेला परेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले बताए।

कागजात किर्ते र नक्कली भेटिएपछि छानबिनका लागि प्रहरीलाई अनुरोध गरिएको उनले बताए। ‘किर्ते गरेर बनाएका नक्कली कागजात पेस गरेर ऋण लिएको फेला परेपछि अनुसन्धानका लागि प्रहरीमा उजुरी दियौँ,’ उनले भने। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.