|

अर्घाखाँची :रूपन्देही जिल्लामा पनि सलह किरा देखिएको छ। शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो।

बुटवलको गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले किट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए। उक्त टोलीले निरीक्षण गर्दा सलह नै रहेको पुष्टि गरेको हो।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले किसानहरूबाट सलह किरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारी रहेको बताए। सुख्खानगर क्षेत्रका स्थानीयले सलह किरा छापेर डिव्वामा राखेपछि वैज्ञानिकलाई खबर गरेका थिए।

नियन्त्रणका उपाय

नेपालमा सलहको प्रवेश पहिलो पटक भएको होइन। ५० वर्ष पहिले सलह आउँदा नियन्त्रणका प्रभावकारी उपाय अपनाउन नसकेको जानकारहरू बताउँछन्।

रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन्। करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल,जालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्न सकिन्छ। सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हो।

विज्ञका अनुसार विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय भएको र मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ। तर, एकैपटक ठूलो क्षेत्रमा छर्नुपर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने उनीहरू बताउँछन्।

यी सबै विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाउने लगायतका सावधानी अपनाउनुपर्ने प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.