|
Photo : express.co.uk

जंगलमा लागेको आगो तीव्ररुपमा फैलिँदै गएपछि न्यूजिल्याण्डको क्राईस्टचर्चमा संकटकाल घोषणा गरिएको छ। गएको सोमबारदेखि पहाडी क्षेत्रमा लागेको आगो नियन्त्रणमा आउन नसकेपछि क्राईस्टचर्च र छिमेकी सेल्विन जिल्लामा संकटकाल घोषणा गरिएको हो।

आगोको डरले हजारौँ मानिसले घर छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। स्थानीय प्रहरीले ४ सय घरका बासिन्दालाई सुरक्षित ठाउँमा सारेको छ भने, अरु सयौंले आफैँ घर छाडेको बीबीसीले जनाएको छ।

हावाको गति एकनाशको नहुँदा आगोले दिशा परिवर्तन गरि तीव्ररुपमा अघि बढ्ने सम्भावना रहेकाले घर छाड्न आवश्यक समयसमेत नपाइने अवस्था छ। सोही कारण प्रहरीले पूर्वसतर्कता अपनाउन अपिल जारी गरेको छ।

अहिलेसम्म १ हजार ८ सय हेक्टरमा आगो फैलिसकेको र ११ वटा घर जलेको समाचारमा जनाइएको छ। धुवाँको मुस्लोले पूरै सहर ढाकेको छ। आगो नियन्त्रणका लागि २ सयभन्दा बढी अग्निनियन्त्रक र तिनलाई सघाउन सेना परिचालन गरिएको छ।

१५ वटा हेलिकप्टर र अरु दुईवटा जहाज आगो नियन्त्रणमा खटिएका छन्। हावाको दिशा र गति परिवर्तन भइरहेकाले आगो नियन्त्रणमा समस्या भएको र आगलागी तीव्ररुपमा फैलिरहेको अग्निनियन्त्रकहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.