|

सल्यानमा : विगतका वर्षहरुमा पूर्वाधारलाई प्रमुख प्राथमिकता दिएका सल्यानका स्थानीय तहहरुले महामारीका रुपमा फैलिएको कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा बदलेका छन्।

चालु आर्थिक वर्ष तथा विगतका आर्थिक वर्षहरुमा पूर्वाधार केन्द्रित बजेट ल्याएका सल्यानका स्थानीय तहले आगामी वर्षका लागि भने कोरोना नियन्त्रण, कृषि, रोजगारी र शिक्षालाई महत्व दिएका छन्।

जिल्लाका १० वटै स्थानीय तहले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेटमा युवाहरुलाई कृषि उद्यममार्फत रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकता दिएका छन्। विगतका वर्षहरुमा स्वास्थ्य क्षेत्रमा निकै कम बजेट छुट्याउने स्थानीय तहरुले यो वर्ष भने धेरै बजेट विनियोजन गरेका छन्।

मेसिन प्रतिबन्ध

वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका र स्वदेशमै रहेका युवाहरुलाई रोजगारी सिर्जना गर्न शारदा नगरपालिकाले मेशिन प्रतिवन्ध लगाउने भएको छ। मानवीय जनशक्तिबाट असम्भव हुनेबाहेक पूर्वाधार निर्माणका काममा मेशिन प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ। गाउँघरमै युवाहरुलाई रोजगारी सिर्जना गर्न यस्तो नीति लिएको मेयर सुरेश अधिकारीले बताए।

शारदा नगरपालिकाले कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा स्वास्थ्य पूर्वाधारमा दुई करोड बजेट विनियोजन गरेको छ । ४९ करोड ९९लाखको बजेट नगरपालिकाले सार्वजनिक गरेको छ।

कृषिमा चख्लाबन्दी

कृषिमार्फत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ दार्मा गाउँपालिकाले कृषिमा चख्लाबन्दी गर्न प्रोत्साहन गर्दै समूह र सहकारी खेतीमा आधारित बजारमुखी उत्पादनमा जोड दिएका छन्। यस्तै दार्मा गाउँपालिकालाई दुग्ध पकेट क्षेत्रको रुपमा विकास गर्ने भएको छ। उत्पादनलाई उद्यमसँग जोड्दै उद्यमीलाई प्रोत्साहन गर्न उपाध्यक्षसँग उद्यमी कार्यक्रम सञ्चालन गरिने दार्मा गाउँपालिका उपाध्यक्ष टिका शर्मा वलीले बताए । दार्मा गाउँपालिकाले ३५ करोडको बजेट विनियोजन गरेको छ।

रोकौं महामारी सुधारौं पूर्वाधार प्रकृतिमैत्री उत्पादन

बनगाड कुपिण्डे नगरपालिकाले रोकौं महामारी सुधारौं प्रकृतिमैत्री उत्पादन भन्ने मुल नाराका साथ कोरोना महामारी विरुद्ध लड्ने प्राथमिकता राखेको छ।

नगरपालिकाले ५२ करोड ३८ लाखको बजेट सार्वजनिक गरेको छ। चालु तर्फ २९ करोड ४० लाख ९६ हजार र पूजिगत तर्फ २२ करोड ९७ लाख ६६ हजार विनियोजन गरेको छ।

कोभिड १९ का कारण नगरभित्रका कुनै नागरिकको मृत्यु भएमा २५ हजार रकम उपलब्ध गराउन नगरभित्र तीन तला भन्दा बढी भवन बनाउनु परेमा अनिवार्य माटो र भौगोलिक परीक्षण गर्नु पर्ने निर्णय गरेको छ।

 अध्यक्ष रोजगार कार्यक्रम

कालीमाटी गाउपालिकाले अध्यक्ष रोजगार कायक्रम सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक बर्षको निति, कार्यक्रम तथा वजेट सार्वजनिक गर्दै गाँउपालिकाले आगामी आर्थिक बर्षमा बेरोजगारहरुलाई गाँउमा नै रोजगारी दिने उद्धेश्यका साथ अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको हो।

 जसका लागि २ करोड रुपैँया विनियोजन गरिएको गाउपालिका अध्यक्ष दान बहादुर केसीले बताए। गाउपालिकाले आगामी आर्थिक बर्षको लागी ४५ करोड ५३ लाख रुपैँया विनियोजन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.