|
गलबन्दी बाँधेर धान रोप्दै गरेका व्यक्ति मन्त्री हुन्।

जनकपुरधाम : आज असार १५ अर्थात धान दिवस। आजको दिन दही च्यूरा खाएर धान रोप्न सुरु गर्ने चलन छ। प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले पनि धान रोपेर धान दिवसको औपचारिकता निभाएका छन्।

धनुषाको हर्दिनाथस्थित राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमको आयोजनामा मन्त्री साहले धान रोपेर खुःशी साटासाट गरे। मन्त्री साहले शुभकामना सन्देश गर्दै धान रोपेर देशको कृषि व्यवस्थालाई मजबुत बनाउने संकल्प लिनुपर्नेमा जोड दिएका छन्।

प्रदेश सरकारले कृषिजन्य उत्पादनमा आत्मनिर्भरताको स्थिति सिर्जना गरी खाद्य सुरक्षालाई सुदृढ बनाउन कृषि कार्यलाई उच्च प्राथमिकतामा राखेर उत्पादन र उत्पादकत्व वृद्धि गर्न भरमग्दुर प्रयत्न गरिरहेको मन्त्री साहको भनाई छ।

‘हामीले बिउबिजन, मलखाद, सिँचाइ, बिजुली, सडक, बजार आदि व्यवस्थापन गरेर कृषिकार्यलाई सहज र विस्तारित बनाउने खालका किसानमैत्री कार्यक्रमहरू ल्याएका छौं’, मन्त्री साहद्वारा जारी सन्देशमा भनिएको छ, ‘मन्त्रालयले विगतमा ल्याएका विभिन्न कार्यक्रमबाट प्राप्त अनुभव र परिणामका आधारमा अबका वर्षमा थप सरलीकृत ढंगले कृषि कार्यक्रम सञ्चालन दृढ छ। यसले कृषिजन्य सामग्रीमा आयात प्रतिस्थापन हुने गरी प्रतिफल दिने पेसाका रूपमा कृषिकार्य स्थापित हुने विश्वास लिएका छौं।’

कोभिड–१९ को असाधारण र असामान्य स्थितिमा पनि नेपालका किसानहरूले देशको अर्थतन्त्र र समग्र जीवनशैलीलाई प्रतिबिम्बन गर्ने खेती किसानीलाई निरन्तरता दिँदै आएकोमा मन्त्री साहले सबै किसानलाई बधाई दिएका छन्। देशको मुख्यबालीका रूपमा रहँदै आएको धान उत्पादनको करिब ३० देखि ४० प्रतिशत हिस्सामा प्रदेश २ को साझेदारी रहँदै आएको तथ्यले यहाँको कृषि प्रणालीमा धान उत्पादनको महत्व स्थापित हुँदै आएको छ’, जारी सन्देशमा भनिएको छ।

अहिले बालीनाली सखाप पार्ने संकट निम्त्याउने सलह कीराका केही झुन्डको नेपाल प्रवेश भएको छ। यो कीरा नियन्त्रण गरी बालीनाली जोगाउन निरन्तर किसानहरूको सम्पर्कमा रहेर काम गरिरहेका मन्त्री साहले बताएका छन्। सलह कीरा धपाउन किटनाशकको उपयोग र अन्य घरेलु तरिका अपनाउने कार्यमा समेत मन्त्रालयले किसानहरूसँग सहकार्य गरिरहेको उनको भनाइ छ।

तर किसानहरु भने मलखाद नपाएर हैरान छन्। एक त सिँचाइको समस्या छ। झन लकडाउनका कारण मलखाद कतै पाइरहेका छैन। सिमा सिलका कारण भारतीय बाजरबाट पनि मलखाद ल्याउन नपाएको किसानहरुको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.