|

भक्तपुर : आपसी विवादमा आफ्नै साथीलाई ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा भक्तपुर प्रहरीले एक युवकलाई सोमबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली तीनपाटन गाउँपालिका घर भई भक्तपुर नगरपालिका–४ गःहिटी क्षेत्रमा बसी ज्याला मजदुरी काम गर्ने ३० वर्षीय इन्द्रबहादुर तामाङ छन्।

मङ्गोलियन अनुहार भएको, उचाई ५ फिट २ ईन्च, बर्ण गहुँगोरो, निलोमा सेतो धर्सा भएको टिसर्ट, कालो पाइन्ट, सेतो रंगको मोजा लगाएका जडिबुटी उपनामले परिचित मृतक करिब ४५ वर्षिय कृष्ण तामाङको वतन खुल्न सकेको छैन।

स्थानीयका अनुसार सिन्धुलीको साविक लाम्पानटार गा.वि.स.–६ हाल तिनपाटन गाउँपालिका बस्ने ३० वर्षिय ईन्द्र बहादुर तामाङ र वतन नखुलेका जडिबुटी उपनामले परिचित करिव ४५ वर्षिय कृष्ण तामाङ दुवै जना साथी हुन्। दुवै जना भक्तपुरको गःहिटी क्षेत्रमा रहेको सार्वजनिक पाटीमा बास बस्दै सोही क्षेत्रमा भारी बोक्ने, ज्याला मजदुरी गर्ने गर्दथे।

मादक पदार्थ सेवन गरेर कहिले आपसमा विवाद गर्ने, कहिले मिलेर सँगै काम गर्ने उनीहरुको दिनचर्या जस्तै थियो। सधैंझैं आइतबार साँझ पनि उनीहरु दुवै जना कामबाट फर्केर आएर गःहिटीस्थित सार्वजनिक पाटीमा बास बसे। मादक पदार्थ सेवन गरेका दुवैजनाबीच सामान्य विवाद हुन थाल्यो। यस्तैमा ईन्द्रबहादुरले कृष्णको टाउको, निधार र चिउडोमा समेत ढुंगाले अन्धाधुन्ध प्रहार गरी अर्कै पाटीमा गएर सुते।

सोमबार बिहान अबेरसम्म कृष्ण नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरे। प्रहरी तत्काल घटनास्थल पुगेर हेर्दा कृष्णको मृत्यु भइसकेको थियो। प्रहरीले तत्काल घटनाको अनुसन्धान शुरु गर्‍यो।

घटनाको महानगरीय प्रहरी परिसरका प्रहरी निरिक्षक भगवती तिमल्सिना र अपराध महाशाखाका प्रहरी निरीक्षक किशोर ढुंगाना नेतृत्वको संयुक्त टोलीले अनुसन्धान गर्दा मृतकका साथी ईन्द्रबहादुरले हत्या गरेको खुल्न आएपछि उनलाई तत्काल पक्राउ गरिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.