विचार

नेकपाकै नेताले नचिनेका मदन भण्डारी र कम्युनिष्ट भविष्य

अबको कम्युनिष्ट आन्दोलन बहुलवादमा प्रवेश गरिसकेको छ

असार १५, २०७७

    हिजो असार १४ गते नेपाल कम्युनिस्ट पार्टीका पार्टी सदस्यहरूले,नेपाली कम्युनिस्ट आन्दोलनका सिद्धान्तकार, मार्क्सवादका सही अध्येता, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव तथा प्रतिनिधिसभाका सदस्य मदनकुमार भण्डारी ६९औं जन्मजयन्ती मनाए।

    हुनत अहिलेको नेकपाका बहुसंख्यक साथीहरूलाई मदन भण्डारीका बारेमा ठोस जानकारी छैन। कतिलाई भएको जानकारी पनि दन्तेकथा जस्तो भएको छ। त्यसैले वर्षको दुई पटक श्राद्ध गरेर मदन भण्डारीलाई सम्झिने एउटा परम्परा धानेको छ नेकपाले।

    नेपालको कम्युनिस्ट आन्दोलनमा के र कस्तो भूमिका रह्यो मदन भण्डारीको ? मदन भण्डारी कसरी आफ्ना समकालीनका अगुवा भए ? उनले के बुझे र धेरै स्वनामधारी मार्क्सवादी नेताहरूले संशोधनवाद भनी आलोचना गरिएको जनताको बहुदलीय जनवादको पक्षमा दृढतापूर्वक उभिएर नेपालको कम्युनिस्टलाई आवधिक निर्वाचन प्रणाली मार्फन सरकार संचालन गर्ने  तहसम्म पुर्‍याए ? मदन भण्डारी नभएको भए नेपालको कम्युनिस्ट पार्टी यो उचाइमा आइपुग्न सक्थ्यो ? यसको सैद्धान्तिक तथा बैचारिक  आधार कसरी विकास गरिदै थियो ?  

    नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाइबाटै यो लेखनको प्रष्टिकरण दिन चाहन्छुअध्यक्ष दाहालले कतै भन्नु भएको थियो मदन कमरेडसँग पचास सालमा  मेरो भेट हुन पाएको भए हामी गम्भी नोक्सानीबाट बच्ने थियौंत्यो गम्भीर नोक्सानी भनेको अरुथोक  नभएर उहाँहरूले भन्ने गरेको दीर्घकालीन जनयुद्ध नै हो

    त्यो बेला ललितपुरको कुपण्डोलतिर कतै उहाँहरू भेट्ने र नेपाली क्रान्तिका बारेमा छलफल गर्ने मसिनो जानकारी मैले पनि पाएको थिएँ। तर त्यो भेट भएन। भएको भए के हुन्थ्यो अहिले अनुमान मात्र गर्न सकिन्छ। अनुमान तिर अहिले नजाउँ।

    एकपटक मदन भण्डारीद्धारा प्रस्तुत जनताको बहुदलीय जनवाद नेकपा (एमाले) को स्थायी कमिटीमा अल्पमतमा प-यो। तर स्थायी कमिटीले अन्तिम निर्णय गर्न पाउँदै थियो। स्थायी कमिटीमा उतिबेलाका दिग्गज नेताहरू  मनमोहन अधिकारी, सहाना प्रधान, सि.पी. मैनाली, झलनाथ खनाल खुलेरै जनताको बहुदलीय जनवादको विपक्षमा उभिनु भएको थियो। तर केन्द्रीय कमिटीबाट बहुमत सहित ‘नेपाली क्रान्तिको कार्यक्रम’  पारित भयो।

    दिग्गज नेताहरू केन्द्रीय कमिटी निर्णयसँग असहमत हुनुभयो। उहाँहरूले केन्द्रीय कमिटीमा प्रस्तुत गरिएका दस्तावेज माथि देशभरिका कार्यकर्ताको माझ लैजाने अनि मात्रै महाधिवेशनमा लैजाने प्रस्ताव ल्याउनु भयो। यो उहाँहरूको आफ्नो व्यक्तित्व माथिको विश्वास थियो।

    हामीले विधानको कुरो पनि उठायौं र केन्द्रीय कमिटीले बहुमतबाट पारित दस्तावेज सिधै महाधिवेशनमा प्रस्तुत हुनुपर्छ भन्यौं। तर मदन भण्डारीले‘जाउँ भने जाउँ, महाधिवेशन अघि नै दस्तावेज बारे कार्यकर्ताले जानकारी लिन सक्ने छन्। के फरक पर्छ र !’ भन्नु भयो।

    यसरी नेपाली राजनीतिक आन्दोलनको इतिहासमा पहिलो पल्ट, महाधिवेशन अघि नै महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरूका बारेमा जानकारी राख्ने मौका पाए। लोकतान्त्रिक परम्पराको यो पहिलो प्रयोग थियो नेकपा (एमाले) को। शायद यो हिम्मत अरुले गर्न सक्दैनन।

    मार्क्सवाद– लेनिनवाद– माओत्सेतुङ (माओ) विचारधाराको विगविगी थियो उतिबेला। नेकपा (माले) ले माओत्सेतुङ विचारधारालाई  सिराहामा भएको चौथो महाधिवेशनबाटै विदा गरिसकेको थियो।

    विदा गरे पनि त्यो बलियो गरी जमेर बसेको थियो नेपालका कम्युनिस्ट कार्यकर्ताको दिमागमा। त्यसैले जनताको बहुदलीय जनवादको विपक्षमा यही नौलो जनवाद एक नम्बरमा थियो। हामी केहीले एकातिर ठूला र नाम चलेका नेताहरू, अर्कोतिर हामीले बोकेको जनताको बहुदलीय जनवाद बीचको बहस। तर मदन भण्डारीले आत्मविश्वासका साथ  भन्नु भयो, ‘युवाहरू बीच जाँदैछौं हामी। युवाहरू लोकतन्त्रका पक्षधर हुन्छन्। जनताको बहुदलीय जनवादले जित्छ।’

    एकताको पाचौं महाधिवेशनमा जनताको बहुदलीय जनवादले अदभुत हिसाबले जित्योत्यतिबेलाको स्थायी कमिटीमा मदन भण्डारीको नयाँ, लोकतान्त्रिक विचार,पार्टी बाहिरका मानिसहरूका लागि आश्चर्यकै विषय थियोभन्न पनि हामीले जनताको बहुदलीय जनवादलाई नविन विचार भन्न थालिसकेका थियौं

    अर्थात मार्क्सवाद भनेको अधिनायकवाद हो भन्ने (कम्युनिस्ट वा अकम्युनिस्टहरू) छाँगाबाट खसेको समय थियो त्यो।

    तर उग्रवाद थाकेन। मार्क्सवाद– लेनिनवाद– माओवादको नाउँमा त्यो झन झन आक्रामक हुँदै गयो। विचारका रुपमा मात्र होइन, त्यो त भौतिक आक्रमण बोकेर मैदानमा आयो। जति आक्रामक भए पनि संसार भरि असफल भएको माओवाद नेपालमा सफल हुनु सम्भव थिएन। तर हामीले बेस्सरी नोक्सानी बेहो-यौं। अन्तत उग्रवाद पनि लखतरान भएर टुङ्गोमा आइपुग्यो।

    अहिले केन्द्रीय कमिटी र पोलिटब्युरो सदस्य हुने क्षमताका एक दर्जन भन्दा बढी साथीहरू त्यो दोहोरो हिँसामा बलिदान हुनु भयो। कतिपय गाउँबाट पार्टी नै विस्थापित हुन पुग्यो।

    मदन भण्डारी पछिका दिनहरूमा,जनताको बहुदलीय जनवाद कार्यक्रमलाई हामीले नेकपा (एमाले) को सिद्धान्त, नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्त भनेर दस्तावेजमा लेख्यौं। तर दस्तावेजमा लेखिएको कुरालाई हामी धेरैले कहिल्यै आत्मसात गर्न सकेका छैनौं।

    पार्टीको आन्तरिक जीवन वा सरकार गठनको सन्दर्भमा हामीले २०५३ सालको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सत्ता साझेदारी गरेपछि व्यवहारमा जनताको बहुदलीय जनवादलाई खोपाको देउता बन्यो। क्रान्तिपूर्व पनि सरकार बनाउन सकिन्छ भन्ने मदन भण्डारीलाई चिथोरेर जसरी पनि सरकारमा जानु पर्छ भन्ने विचारहीन हठले हाम्रा अधिकांश नेतालाई सिकिस्त विरामी बनायो।

    आफ्नो कार्यक्रम भन्ने त शब्द नै हरायो। हुँदाहुँदा मानिएका नेता झलनाथ खनालले त जनताको बहुदलीय जनवादको साटो जनताको जनवाद समेत स्वीकारेर प्रधानमन्त्रीको जागीर खानु भएछ। एमाले–माओवादी गठबन्धनको सरकारलाई उतिबेलै मैले लेखेको थिएँ– ‘प्रधानमन्त्री नेकपा (एमाले)को सरकार माओवादीको’ भनेर।

    जनताको जनवाद भने पनि नौलो जनवाद भने पनि अब हामी पछाडि फर्किने अवस्थामा छैनौं। पुँजीवादले भन्दा समाजवादले बढी प्रजातन्त्र दिन सक्दैन भने नागरिकले समाजवाद राम्रो भन्ने छैनन्। मान्छे सार्वभौम हो। जन्मदेखि मृत्युसम्म मान्छे स्वतन्त्र हो।

    आफ्नो स्वतन्त्रतालाई राज्य या नेताकोमा बन्धकी राख्नेहरू नागरिक त होलान् तर उनीहरू असल नागरिक बन्न सक्दैनन्। त्यसैले अहिलेको चुनौति भनेको कम्युनिष्ट पार्टीले असल र समय सापेक्ष सिद्धान्त ग्रहण गर्नुको विकल्प छैन। त्यसैगरी नेकपाको सिद्धान्तमा टेकेर राष्ट्र र जनताले चाहे अनुसारको शासन गर्ने सक्षम सफल एवं दृढ नेतृत्वको सरकारको पनि विकल्प रहँदैन।

    हाम्रा धेरैजसो नेताहरूले अझै पनि मदन भण्डारीलाई चिनेका छैनन्। तत्काल चिन्न चाहे राम्रै हो नचाहे जीवनको उत्तरार्धमा पक्कै चिन्ने छन्मदन भण्डारीलाई चिन्न उहाँले प्रतिपादन गरेको बहुदलीय भन्ने शब्दको सार चिन्नु पर्छ। त्यो बहुदल मात्र बहुदल होइन बहुलवाद हो जसमा व्यक्तिगत स्वतन्त्रताको राजनीतिक परिभाषा अन्तरनिहित छ अबको कम्युनिष्ट आन्दोलन बहुलवादमा प्रवेश गरिसकेको छ। यो प्रवेश गराउने काम मदन भण्डारीबाट भएको हो। जसले यो सत्य स्विकार गर्न सक्दैन त्यसले अबको कम्युनिष्ट आन्दोलन हाँक्न वा नेतृत्व दिन सक्ने छैन।

    यो खालि संसदीय पद्धति मात्र होइन। हरेक नागरिक आफ्नो प्रतिनिधि आफैं वा अरु कसैलाई छान्न स्वतन्त्र छन्। उनीहरू इच्छा अनुसारको काम गर्न स्वतन्त्र छन्।‘स्वतन्त्र मानव’। कार्ल मार्क्स पछि मदन भण्डारीमैं मैले यो दर्शन पाएँ।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]