|
Photo: urduwire.com

काठमाडौं : म्याच फिक्सिङ (खेल मिलेमतो) अब राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर ठहरिने भएको छ। मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको फौजदारी कसुरसम्बन्धी विधेयकमा म्याच फिक्सिङलाई राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर मान्ने प्रस्ताव गरिएको छ।

नेपाली फुटबल खेलाडी म्याच फिक्सिङमा सहभागी भएको पाइँदा पनि कुन कानुनअन्तर्गत कारबाही चलाउने अन्यौल भन्ने अन्यौल थियो। यससम्बन्धी अन्यौलता हटाउने गरी विधेयकको दफा ५१ को उपदफा (३) मा म्याच फिक्सिङलाई राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर मान्नेगरी स्पष्ट व्याख्या गरिएको छ।

'नेपालको प्रतिनिधित्व गरी विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीसँगको समूहले वा कुनै ठाउँ विशेषको प्रतिनिधित्व गरी राष्ट्रियस्तरका खेलाडीको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुनेगरी मिलेमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर भएको मानिनेछ', विधेयकमा उल्लेख छ।

विधायन समितिअन्तर्गत फौजदारी कसुर विधेयकका लागि गठन गरेको उपसमितिले म्याच फिक्सिङमा सजायसमेत निर्धारण गरेको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा म्याच फिक्सिङ भए संलग्नलाई फौजदारी कसुरअन्तर्गत ३ वर्ष कैद र ३० हजार जरिवाना प्रस्ताव गरिएको छ। 'हामीले पहिलोपटक म्याच फिक्सिङलाई फौजदारी कसुरको दायरामा ल्याएका छौँ,' उपसमितिका संयोजक कृष्णभक्त पोखरेलले भने, 'अब म्याच फिक्सिङ राष्ट्रिय स्वाभिमानविरुद्धको कसुर हुनेछ।'

यस्तो कसुर सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेमा वा नेपाललाई प्रतिनिधित्व गर्ने व्यक्तिले विदेश गएका बखत गरेमा थप तीन वर्ष कैद हुनसक्ने प्रस्तावित विधेयकमा उल्लेख छ। यस्तै म्याच फिक्सिङको आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई मुख्य कसुरदार सरह सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.