|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमी व्यवसायीलाई अप्ठ्यारो पार्ने काम सरकारले नगर्ने बताएका छन्।  उनले सरकारको नियत उद्योगी व्यवसायीलाई अप्ठ्यारो पार्ने, हतोत्साही बनाउने, असहयोग गर्ने भन्ने नै हुँदैन, यो सरकारले सोच्न सक्ने विषयसमेत होइन। 

नेपाल उद्योग परिसङ्घको सत्रौँ वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गदै प्रधानमन्त्री ओलीले भने, अहिलेका साझा समस्यालाई साझा ढङ्गले नै समाधान गर्नुपर्छ। सरकार उद्यमी व्यवसायीको
साथमा छ। सरकारले निजी क्षेत्रलाई अख्तियार लगाउँदैन।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाएर निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्ने निष्कर्षमा सरकार नपुगेकाले त्यो प्रक्रिया स्थगित गरिएको जानकारी दिए। निजी क्षेत्रलाई नियमन गर्ने थुप्रै निकाय छँदैछन् भन्दै प्रम ओलीले स्पष्ट पारे, अहिले अख्तियार ल्याउनु आवश्यक छैन। यसलाई सरकारले अघि बढाउँदैन।

राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्र र सरकारको छुट्टाछुट्टै तर समपूरक भूमिका निर्वाह गरेको टिप्पणी प्रधानमन्त्री ओलीको थियो। निजी क्षेत्र उत्पादन, वितरण, व्यापार, आयात, निर्यात जस्ता गतिविधि गरेर अर्थतन्त्र, राजस्वमा योगदान गर्ने र सरकारले त्यसको उचित नियमन, रेखदेख र निजी क्षेत्रको योगदानलाई सदुपयोग गरेर देश विकासको प्रयासमा लाग्ने उनको भनाइ थियो।

कोरोनाले परेको घाटा तथा कठिनाइ समीक्षा गर्न निजी क्षेत्रलाई आग्रह गर्दै प्रधामन्त्री ओलीले आफ्ना क्षेत्रगत हित मात्र नसोचेर समग्र राष्ट्रिय अर्थतन्त्रमा हित गर्नेगरी निष्कर्ष निकाल्न साधारण सभालाई आग्रह गरे। उनले निजी क्षेत्रका विभिन्न सङ्गठन रहे पनि समस्याका विषयमा साझा दृष्टिकोण र पहल आवश्यक हुने बताए।

कार्यक्रममा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्षमा अथतन्त्रले पुरानै लय समाउन सक्ने देखिएको बताएका छन्। उनले कोरोना महामारीबीच पनि वैदेशिक लगानी आकर्षक रहेको, विदेशी मुद्रा सञ्चितिमा सुधार भएको, रेमिट्यान्स आप्रवाह राम्रो रहेको भन्दै नेपालको अर्थतन्त्रले सोचेभन्दा छिटो गति समाउने देखिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.