|

मुगु : हिमाली जिल्ला मुगुमा रोपाइँ सकिन लागेको छ। उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका, पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाकाका केही गाउँहरुमा धान रोप्न भ्याइनभ्याइ छ।

आकाशे पानीको भर पर्नुपर्ने यहाँका किसानले यस वर्ष छिटो वर्षा भएकाले रोपाइँ पनि छिटो गरेका हुन्। छिटो धान रोप्दा धान उत्पादनमा फरक नपर्ने जिल्ला कृषि विकास कार्यालयका प्रमुख पञ्चलाल बुढाले बताए। उनका अनुसार अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ।

छायाँनाथ रारा नगरपालिका–३ निगाले गाउँका स्थानीयहरुले कसले कहिले रोपाइँ गर्ने भन्ने टुंगो गोलाप्रथाबाट गर्दै आएका छन्। रोपाइँ गर्न असार ६ मा नै गोलाप्रथा गरे पनि आसार १५ देखि आफ्नो पालो परेको निगाले गाउँका गोकर्ण रोकायाले बताए।

जिउलोमा रहेको खेतमा कसको रोपाइँ कहिले गर्ने भन्ने गोलाप्रथा गर्ने चलन छ। रोपाइँ पहिले गर्ने भनी गाउँलेहरुको होडबाजी हुने, गाउँ सानो भएकाले रोपाहार, हली र गोरुको अभाव हुने भएकाले गोलाप्रथा गर्न थालिएको जानदेवी रोकायाले बताइन्।

चार वर्ष यताबाट रोपाइँ गर्न चिट्ठा तान्न थालिएपछि रोपाहार, खेताला, गोरु र पानीको अभाव हुन छाडेको छ। यसअघि गाउँलेबीच रोपाइँ कै विषयलाई लिएर झगडा हुने भए पनि त्यो रोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.