|

बाँके : बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकामा विद्युत् सेवा पुगेको छ। विद्युत्को तार तान्ने काम सम्पन्न भएपछि आइतबारदेखि परीक्षणका लागि करेन्ट प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख मुनेन्द्र ठाकुरले जानकारी दिए। 

उनका अनुसार परीक्षण सकिए लगत्तै जनतालाई विद्युत् सेवा वितरण शुरु हुनेछ। जग्गाधनी पुर्जा र वडा कार्यालयको सिफारिसका आधारमा विद्युत् लाइन वितरण गरिने छ।  बाइस वर्षदेखि हरेक निर्वाचनमा चुनावी नारा बन्दै आए  पनि अहिले बन्दाबन्दी अवस्थामै नरैनापुरमा विद्युतीकरणले सार्थकता पाउँदै छ। एक जनाको ज्यान जाने गरी नरैनापुर गाउँपालिकामा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भएपछि लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन केन्द्र सञ्चालन गर्नका लागि विद्युतीकरणको काम धमाधम भएको थियो। 

कोरोना महामारी फैलिएपछि बन्दाबन्दीमा शुरु भएको विद्युतीकरण जेठ महीना मै सकिएको ठेकेदार कम्पनीका प्रतिनिधि त्रिलोक धितालले जानकारी दिए।  सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिण पूर्वमा अवस्थित उक्त क्षेत्रका बासिन्दा एवम् तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवले विगतमा ग्रामीण विद्युतीकरण समितिका नाममा काम अल्झिँदै आएकाले त्यसलाई स्थगन गरी विद्युत् प्राधिकरणलाई जिम्मा दिएसँगै विद्युतीकरणको कामले सार्थकता पाएको बताए। 

नेकपा केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री यादवले आफू उक्त क्षेत्रको सांसद हुँदा शुरु गरिएको विद्युतीकरणको कामले अहिले पूर्णता पाएकोमा गर्वको अनुभूति भएको बताउँदै अब नरैनापुरवासीले अँध्यारोमा बस्नु नपर्ने जिकिर गरे।

नरैनापुरमा कोरोना महामारी फैलिएपछि आइसोलेशन केन्द्र सञ्चालनका लागि विद्युतीकरण गर्न उक्त क्षेत्रका प्रतिनिधिसभा सदस्य महेश्वरजङ्ग गहतराज र प्रदेशसभा सदस्य कृष्ण केसीले पनि निरन्तर चासो देखाउँदै आएका छन्। विद्युत् नहुँदा गाउँपालिकामा क्वारेन्टिन व्यवस्थापनमा समेत कठिनाइ भइरहेको  बताउँदै अब भने विद्युत् आउनेमा आफू ढुक्क भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.