|

दमक : झापाको क्षेत्र नम्बर ६ र ७ का अधिकांश शिक्षकहरु राजनीतिमा सक्रिय रहेको तथा केहीले पदीय जिम्मेवारीसमेत सम्हालिरहेको पाइएको छ। शिक्षा ऐन, आठौँ संशोधन -२०७३ को खिल्ली उडाउँदै शिक्षकहरु राजनीतिमा सक्रिय हुँदा पनि जिल्ला शिक्षा कार्यालय बेखबर छ।

झापाको गौरादहस्थित जनता माध्यमिक विद्यालयका शिक्षक मित्रदेव काफ्लेले शिक्षा ऐनकै खिल्ली उडाएर सक्रिय राजनीति गरिरहेका छन्। उनी एमाले गौरादह नगर कमिटी अध्यक्षको जिम्मेवारीमा छन्। एमालेकै नगर सचिव बलबहादुर तामाङ पनि पेशाले शिक्षक हुन्। उनी गौरादह-११ को भारती प्राविमा अध्यापनरत छन्। एक वर्षदेखि नेपाली काँग्रेसको ७ नम्बर क्षेत्रीय सचिवको जिम्मेवारीमा रहेका चुडेन्द्र खड्का जनज्योति आधारभूत विद्यालय दमकका शिक्षक हुन्। यस्तै गौरीगञ्ज क्याम्पसका प्राध्यापक चन्द्रबहादुर खड्का नेकपा एमाले वैगुनधुरा गाउँ किमिटी अध्यक्ष हुन्।

यसैगरी एमाले लखनपुर गाउँ कमिटी अध्यक्ष पृथ्वीपति राई पनि शिक्षक हुन्। उनी झापाको सीमावर्ती क्षेत्र इलामको चुलाचुलीस्थित बाह्रकोठेको किराँतेस्वर माविमा पढाउँछन्। सहिद धर्मभक्त मावि केर्खाका शिक्षक नारायण गौतम एमाले झापा ७ का प्रशिक्षण विभाग सचिव हुन्। यस्तै पृथ्वी आधारभूत विद्यालय दमकका शिक्षक राजेन्द्र दाहाल एमालेका जिल्ला सदस्य हुन्। जनज्योती प्रावि गौरादहका शिक्षक नेत्रबहादुर खड्का नेपाली काँग्रेस गौरादह नगर कमिटी सदस्य हुन्।

यही क्षेत्रका एक प्राध्यापकसमेत राजनीतिमा सक्रिय छन्। दमक-१३ स्थित जनता अधारभूत विद्यालय प्राध्यानध्यापक केदार सुवेदी माओवादी केन्द्र दमक -१३ का वडा अध्यक्ष हुन्। यसैगरी भानु मावि धरमपुरका शिक्षक राधाकृष्ण खनाल एमाले जिल्ला कमिटी सदस्य तथा स्कूल विभाग प्रमुखको जिम्मेवारीमा छन्।

यसरी राजनीतिमा लागेका शिक्षकहरु एकअर्काको उदाहरण दिएर आफ्नो बचाउ गर्छन्। नेपाली काँग्रेसका क्षेत्रीय सचिवसमेत रहेका शिक्षक चुडेन्द्र खड्काले अरु शिक्षकले पहिलेदेखि नै राजनीति गर्दै आएकाले आफू पनि राजनीतिमा लागेको बताए। 'सबैजनाले पहिलादेखि नै राजनीति गर्नुभएको थियो, त्यसैले मैले पनि गरेको हो,' उनी भन्छन्, 'यो सामाजिक कामजस्तै लाग्यो अनि सचिवमा उम्मेद्वारी दिएँ।' उनी आफू राजनीतिमा लागे पनि शिक्षण पेशामै बढी समय खर्चिएको जिकिर गर्छन्। राजनीतिमा लागेरै विद्यालयमा कम्प्युटरसमेत जोडेको उनको दाबी छ।

यता माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षको जिम्मेवारीमा रहेका शिक्षक केदार सुवेदीले भने आफूले पार्टीको जिम्मेवारीबाट राजीनामा दिने सोच बनाएको बताए। 'राजीनामा मैले लेखेको पनि हो, तर पार्टीबाट स्वीकृत भएन,' उनले भने, 'अब म पार्टीको साधारण सदस्य पनि रहन्न।'

झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले भने यस्ता शिक्षकलाई कारबाही गर्ने बताउँछन्। ‘एउटा शिक्षकले दलको नेतृत्व गर्न त के राजनीतिक प्रशिक्षण पनि दिन मिल्दैन, राजनीति गर्ने भए शिक्षण पेशाबाट राजीनामा दिनुपर्छ,' उनले थाहा खबरसँग भने, 'कुनै राजनीतिक विचारमा आस्था राख्न पाउनु स्वभाविक हो, तर पार्टीको नेतृत्व गर्न पाइँदैन।'

यता अभिभावकहरु भने धेरैजसो शिक्षक राजनीतिमा लाग्दा विद्यार्थीको भविष्य नै अन्यौलमा परेको गुनासो गर्छन्। कतिपय शिक्षकले त विद्यार्थीमाथि जबर्जस्ती राजनीतिक आस्था लाद्ने गरेको उनीहरुको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.