बालुवाटारमा नेताहरुबीच चर्काचर्की

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठकमा नेताहरूबीच चर्काचर्की भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितले सरकारको अकर्मण्यतालाई लिएर प्रधानमन्त्री ओलीमाथि घेराबन्दी कोसिस गरेपछि चर्काचर्की भएको हो। प्रधानमन्त्री ओलीले आइतवार दिएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र विवादको नयाँ श्रृङ्खला मंगलबारदेखि सुरु भएको छ। 

प्रधानमन्त्री ओलीले असार १४ गते नेपाल भारत सिमा विवादको बिषयलाई लिएर सरकार ढाल्न रणनीति भइरहेको बताएका थिए। सरकारलाई हटाउने नाममा काठमाडौंका होटल र दूतावासहरुले गतिविधि बढाएको प्रधानमन्त्रीले दाबी गरेका थिए। 

यही बिषयमा प्रधानमन्त्री ओलीसँग अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले सरकार ढाल्न खोजिएको बिषयमा जवाफ माग गरे। उनीहरुले भारत र आन्तरिक शक्ति मिलेर सरकार ढाल्न लागेको भनेर ओलीले अभिव्यक्ति दिएपछि नेताहरुले बैठकमा प्रमाणसहित स्पष्ट पार्न दबाब दिए।

यही बिषयलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बैठकमा भनाभनको अवस्था सिर्जना भएको छ। बैठकमा त्यही अभिव्यक्तिलाई लिएर अध्यक्ष दाहालले दुवै पद छाड्न भनेका छन्। तर, जवाफमा प्रधानमन्त्री ओली जँगिएका थिए।

एक स्थायी कमिटी सदस्यका अनुसार स्थायी कमिटी बैठकको हरेक सूचना हुबहु दिल्ली पुग्ने गरेको भन्दै ओलीले आक्रोश पोखेका हुन्। 'स्थायी कमिटी बैठकमा भएका कुरा नयाँ दिल्लीको मिडियामा कसरी हुबहु आए?', ओलीको भनाइ उद्धृत गर्दै एकजना स्थायी कमिटी सदस्यले भने, 'यहाँ बैठकमा भएका कुरा भारतीय मिडियामा जस्ताको त्यस्तै आउँछन्, यसबारे सबैले ध्यान दिएर छलफल गर्नुपर्छ।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.