भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा

|

काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर राजकुमार शाक्य विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारको अनुसन्धानबाट उनी कमिसन नलिई काम नगर्ने प्रवृत्तिका रहेको खुलेको छ।

शाक्यसँग १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ अवैध सम्पत्ति रहेको निचोडसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

२०४९ जेठ २ गते जिल्ला खानेपानी कार्यालय कञ्चनपुरमा ओभरसियर पदमा सरकारी सेवा प्रवेश गरेका उनले २०७६ फागुन मसान्तसम्म १२ करोड ३९ लाख २४ हजार १४ रुपैयाँ आम्दानी गरेको अख्तियारले उल्लेख गरेको छ। उनको वैध आम्दानी १ करोड ६१ लाख ७३ हजार ५ सय ६१ रुपैयाँ मात्र हुने अख्तियारको दाबी छ। 

‘अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजातहरु एवं सम्वन्धित व्यक्तिहरुले खुलाई दिएका व्यहोरा अनुसार निज राज कुमार शाक्यले सार्वजनिक सेवामा प्रवेश मितिदेखि मिति २०७६ फाल्गुण मसान्तसम्मको जाँच अवधिमा सार्वजनिक सेवामा रही जम्मा एक करोड ६१ लाख ७३ हजार पाँचसय ६१ रुपैयाँ आय आर्जन गरेको देखिन्छ,’ अख्तियार भन्छ, ‘अनुसन्धानमा लिइएको जाँच अवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्न निज राजकुमार शाक्यले १२ करोड ३९ लाख २४ हजार १४ रुपैयाँ खर्च तथा लगानी गरेको देखिँदा निजको आयको अनुपातमा १० करोड ७७ लाख ५० हजार चारसय ५३ रुपैयाँ बराबरको  बराबरको भागलाई निजको वैध आयस्रोतले खामेको पाइएन।’ 

इन्जिनियर शाक्यले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण र सवारी साधन खरिद गरेको पनि देखिएको छ। त्यस्तै भान्जीको नाममा समेत जग्गा किनेर लुकाएको अख्तियारले जनाएको छ। 

शाक्य विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ र दफा १६ को उपदफा २ बमोजिम समेतको सजाय गरी गैरकानुनी आर्जन गरेको १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ बिगो असुल गर्न अख्तियारले माग गरेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.