|

सिमरा । नदीजन्य उत्खननबापत बुझाउनुपर्ने राजस्व रकममा ठेकेदारले ‘बाउन्स चेक’ (नगद मौज्दात नभएको) प्रयोग गरेको भेटिएको छ। 

बाराको दुधौरा खोला उत्खननको ठेक्का लिएको श्रेष्ठ बिल्डर्स प्रालिले माघ मसान्तभित्र बुझाउनुपर्ने दोस्रो किस्ताको  १ करोड २५ लाख २५ हजार रुपैयाँ राजस्वमा बाउन्स चेक प्रयोग गरेको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । 

श्रेष्ठ बिल्र्डसका प्रमुख लाल श्रेष्ठले जेठ १५ गते एभरेस्ट बैंकको चेक  नं ००४२६९८६५७  मार्फत उपमहानगरको नेपाल बैंक लिमिटेडको खातामा सो रकम जम्मा गरेका थिए । तर बैंकमा चेक जम्मा गरेको महिना दिनसम्म पनि नगरपालिकाको खातामा रकम जम्मा नभएपछि आफूहरुलाई झुक्याइएको नगरपालिका राजस्व फाँटका कर्मचारीले जनाएका छन् । 

‘हामीले दसौँ पटक खातामा रकम जम्मा भए/नभएको चेक गर्यौं, १ महिना बितिसक्दा पनि रकम जम्मा भएन पछि थाहा भो ठेकेदारले झुक्याएका रहेछन्’, उपमहानगरका राजस्व शाखाका प्रमुख रामेश्वर बञ्जाराले भने। 

उपमहानगरले मातहतमा रहेका दुधौरा बालगंगा र पसाहा खोलालाई प्रतिखोला साढे ३ करोडदेखि साढे ४ करोडमा उत्खनन ठेक्का लगाएको थियो । सो ठेक्काबापत दोस्रो किस्ताको रकम बालगंगा र पसाहा खोला ठेकेदारले बुझाए पनि दुधौरा खोला उत्खननको जिम्मा लिएको श्रेष्ठ बिल्डर्सले झुक्याएर खातामा रकम नभएको चेक नगरपालिकामा बुझाएको भेटिएको हो ।

सिमरा नेकपाका स्थानीय युवाले सो खोलाको उत्खनन ठेक्का लिएका कारण  पनि राजस्व संकलनमा दबाब दिन नसकिएको कर्मचारीहरुले जनाएका छन् ।

‘हामी कर्मचारीले त पटक पटक पत्र काटेको काट्यै छौं, तर के गर्नु मेयरसाबले नै केही बोल्नुहुन्न, उहाँले नै आफ्नो पार्टीको भनेर ठेकेदारलाई संरक्षण गर्नुभएको छ’, नगरपालिकाका अर्का एक कर्मचारीले भने । 
मापदण्डविपरीत जथाभावी उत्खनन गरेर करोडौं राजस्व रकम हिनामिना गर्ने ३ ओटै खोलाका ठेकदार कम्पनीले चैत मसान्तभित्र बुझाउनुपर्ने तेस्रो किस्ताको झण्डै ४ करोड राजस्व रकम पनि छुट गरिदिन दबाबसमेत दिएका छन् । 

नगरपालिकाले राजस्व रकम उठाउन नसेके स्थानीय प्रशासनलाई पत्र पठाए तत्काल कारबाही गरिने बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए। तर यता नगरपालिका कर्मचारीले भने इलाका प्रहरी कार्यालय सिमरालाई पटक पटक पत्र पठाएर ठेक्काबापतको दोस्रो किस्ताको रकम दाखिल गर्न सहयोग माग गरे पनि सहयोग नपाएको आरोप लगाएका छन् । ‘हामीले प्रहरीलाई पटक पटक पत्र पठायौं, तर सहयोग पाइएन’, बञ्जाराले भने । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.