|

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जारी स्थायी कमिटीको बैठकमा भएको घेराबन्दीलाई पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नियोजित हमला भनेका छन्।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति र नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन निर्वाचन आयोगमा परेको विषयले जारी स्थायी कमिटीको बैठकमा  खैलाबैला मच्चिएको छ। 

यही सन्दर्भलाई लिएर बाँस्कोटा बोलेका हुन्। 'प्रधानमन्त्रीका कमजोरी होलान् तर, प्रधानमन्त्रीमाथिका हमलाहरू नियोजित डिजाइनका स्पष्ट श्रृङ्खला हुन्', पूर्वमन्त्री बाँस्कोटाले भनेका छन्, 'बदनाम, आक्रमण र ध्वस्त। चरणहरू यिनै हुन्। बाँकी धैर्यपूर्वक हेरौँ। अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेको हुन्छ।'

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले दुवै पदबाट राजीनामा माग गरेका छन्। 

यता नेकपा एमाले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा परेको निवेदनमा प्रधानमन्त्री ओलीको हात भएको उपाध्यक्ष गौतमले आरोप लगाएका छन्। यस्तै अध्यक्ष प्रचण्डले पनि नयाँ पार्टी कसले किन दर्ता गर्न लागेको भन्दै प्रश्‍न गरेका छन्।

यही बिषयलाई लिएर स्थायी कमिटीको बैठकमा गम्भीर छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन्। नेकपा एमाले दर्ताका लागि सोमबार झापाकी सन्ध्या तिवारीले निर्वाचन आयोगमा निवेदन दिएकी छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.