|

काठमाडाैं : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले कार्य प्रणालीमा सुधार गर्न नसकेको सांसदहरुले बताएका छन्। संघीय संसद प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा सांसदहरुले नेपालमा कोरोना संक्रमणको पहिलो केस देखेपछि अहिलेसम्म काम गर्ने तरिकामा कुनै परिवर्तन ल्याउन नसकेको बताएका हुन्।

पाँच महिनामा कुनै पनि विषयको समस्या समाधान हुने गरी काम हुन नसकेको बताएका हुन्। क्वारेन्टाइन, आइसोलेसन सेन्टर, अस्पतालको गुणस्तरीय सेवा, ल्याबहरुको क्षमता बढाउने लगायत काममा कुनै प्रगति हुन नसकेको सांसदहरुको आरोप थियो। 

सरकार अझै पनि खरिद प्रक्रियामा अल्झँदै बसेको भन्दै त्यसलाई सुधार गर्न उनीहरुले आग्रह गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले स्वास्थ्य सामग्री खरिद, संकलन र वितरणका लागि छुट्टै केन्द्र बनाउनुपर्ने बताए। 

सांसदहरुले आपूर्ति व्यवस्थापन महाशाखाबाट झगडा गरेर स्वास्थ्य सामग्री माग्ने र आफूले चाहेको ठाउँमा लगेर बाँड्ने र फोटो खिच्ने प्रवृत्तिले स्वास्थ्य सामग्रीको वितरणमा विकृति आएको उनको अधिकारीको भनाइ थियो। 

सरकारका निकायहरु स्वास्थ्य उपचारको गुणस्तर बढाउने भन्दा पनि क्वारेन्टाइन बनाउने, राहत वितरण गर्ने, खाना खुवाउने काममा लाग्दा अहिलेसम्म पनि कुनै सुधार नदेखिएको उनले बताए। 

सांसद जीवनराम श्रेष्ठले नेपालमा पहिलो केस देखिएको पाँच महिना पुग्दासमेत कुनै समस्याको प्रभावकारी समाधान गर्न नसकिएको बताए। सरकार खरिद प्रक्रियामा अल्झने र स्थानीय तहले मापदण्डविपरीत क्वारेन्टाइन तथा आइसोलेसन सेन्टर बनाउने कुरामा मात्रै केन्द्रित हुँदा समस्या जस्ताको तस्तै रहेको उनले बताए। त्यस्तै सांसद हितबहादुर तमाङले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि संघीय सरकार र प्रदेश सरकारबीच अझै समन्वय हुन नसकेको बताए। 

सांसद विद्या भट्टराईले कोभिडका कारण हुने स्वास्थ्य समस्या भन्दा नयाँ खालको समस्या उत्पन्न भएको बताइन्। कोभिडलाई स्वास्थ्यको डाइमेन्सनबाट मात्र नभएर सोसिओपोलिटिकल र इकोनोमिक डाइमेन्सनबाट पनि हेर्नुपर्ने उनले सुझाव दिइन्। 

सांसद अन्जना विशुंखेले कोरोना भाइरसका कारण समाजमा नयाँ समस्या देखिँदै गएकोले अबको समस्या के हो भन्ने कुरालाई फरक ढंगले सोच्नुपर्ने बताइन्। 

सांसदहरुले सरकारले गरेका कामहरुको समिक्षा गर्दै लामो समय भइसक्दा पनि काम गर्ने तरिकामा सुधार गर्न नसकेको बताए। अहिले कोरोनाको कारणले भन्दा पनि अन्य रोगहरुका कारण समस्या देखापरेको र यो अवस्थामा सरकारको ध्यान कोरोनामा मात्रै केन्द्रीत भएको भन्दै सबै पक्षलाई हेरेर काम गर्न सरकारलाई आग्रह गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.