|

भक्तपुर : मध्यपुर थिमि–३ गट्ठाघर बस्ने एक महिलामा कोरोना संक्रमण देखिएको छ। छातीमा आएको गाँठोको परीक्षणका लागि भक्तपुर क्यान्सर अस्पताल पुगेकी ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बुधवार भक्तपुरका एक महिला र एक पुरुष गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए। 
उनले जानकारी दिएका ती महिला गट्ठाघर बस्ने गरेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिझारले बताए

उनका अनुसार गत असार १५ गते ती महिलाले कोरोना परीक्षणका लागि स्वाब दिएका थिए। क्यान्सर अस्पतालले ती महिलाको स्वाब परीक्षणका लागि पाटन अस्पताल पठाएको थियो। सो स्वाबको रिपोर्ट बुधवार पोजिटिभ आएको मिझारले जानकारी दिए।

ती महिलालाई थप उपचारका लागि शहीद शुक्रराज ट्रपिकल अस्पताल टेकु पठाएको र उनको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षणको प्रक्रिया अघि बढाएको मिझारले बताए।

स्वास्थ्य मन्त्रालयले जानकारी दिएका संक्रमित पुरुषको भने ठेगाना पत्ता लाग्न नसकेको र उनको खोजी कार्य भइरहेको प्रमुख मिझारले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.