|

बुटवल : उद्योग मन्त्री नवीन्द्रराज जोशीले १० वर्षभित्रमा मुलुकमा पर्याप्त रोजगारी सिर्जना हुने बताएका छन्।

भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) को कार्यालय उद्घाटन गर्दै मन्त्री जोशीले अबको १० वर्षमा रोजगारीका लागि विदेश जानु नपर्ने बताएका हुन्। ‘सरकारले मुलुकभित्रै रोजगारीको सिर्जना गर्ने गरी योजना बनाएको छ', उनले भने–अबको १० वर्षभित्रमा नेपालमा रोजगार नपाएर विदेश जानुप¥यो भन्ने अवस्था आउने छैन।’

उनले बढ्दो ब्यापार घाटा कम गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सेज महत्वपुर्ण भएकाले यसको सञ्चालनमा शंका नगर्न आग्रह गरे। संविधान जारी भएसँगै मुलुक आर्थिक समृद्धि तर्फ केन्द्रित भएको भन्दै औद्योगिक क्षेत्र स्थापनामा सरकारले विशेष जोड दिएको बताए।

सेजमा २१ वटा उद्योगले प्रस्ताव गरेको र ५ अर्ब रुपैयाँ बढी लगानी हुने उनले बताए। मन्त्री जोशीले उद्योग सञ्चालनका लागि आवश्यक बिजुली तत्काल उपलब्ध गराउने भन्दै सेजमा उद्योग निर्माण शुरु गर्न उद्योगीहरुलाई आग्रह गरे।

उद्योग निर्माण गरी सञ्चालन गर्न ७÷८ महिना लाग्ने र त्यतिबेलासम्म बिजुली आइपुग्ने विश्वास दिलाए। विशेष आर्थिक क्षेत्र विकास समिति (सेज)का कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले कम्पनीको ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्ने गरी २१ कम्पनीसँग सेजले सम्झौता गरिसकेको जानकारी दिए।

उनका अनुसार सेजभित्र फलफूल, रेडिमेड गार्मेन्ट, पीभीसी म्याट, सिमेन्ट ब्लक, सिमेन्ट, इलेक्ट्रिकल, फेव्रिक, रबर तथा जुत्ता, तारजन्य उत्पादन, साबुन, गार्मेन्ट प्रोसेसिङ इण्डष्ट्रिज, अदुवा प्रशोधन उद्योग, मिनरल वाटर उद्योग, विद्युतीय गाडीको एसेम्ब्लिङ उद्योग र जुस सम्बन्धी उद्योग खुल्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.