'सबैले जागिर छाडेर गल्ती गरिस् भन्थे अहिले यसैमा रमाएको छु'

|

गोरखा : पछिल्लो समय सानैदेखि गोरखाका हरेक समुदायका युवा लाहुरे हुने सपना बोक्छन्। ‘लाहुरे’मध्ये पनि पहिलो रोजाइ ‘ब्रिटिश’, दोस्रो ‘इण्डियन आर्मी’ अनि र ‘नेपाल आर्मी’।​ छोरीचेलीको बिहे गर्नका लागि बा, आमाले पनि ‘लाहुरे’ कुटुम्ब खोज्ने नेपाली परम्परा हो। युवतीहरूले पनि ‘लाहुरे’ श्रीमानको सपना सजाउँछन्।

सबैले जस्तै सानैदेखि ‘लाहुरे’ हुने सपनालाई मनमा सजाएर हिँडेका युवा हुन् गोरखा नगरपालिका-३ रातमाटाका शिवजी खड्का। सलक्क मिलेको खाइलाग्दो ज्यान। उचाई ५.४ इन्च। २०७४ साउनमा पहिलो प्रयासमै २० वर्षकै उमेरमा गोरखाको रणसिंह दलगणबाट नेपाल आर्मी छनोट भए।

२०७४ साउनमा ‘लाहुरे’ बनेका उनले नुवाकोटको त्रिशूली तालिम केन्द्रबाट २०७५ वैशाख मसान्तमा ९ महिने ‘रिक्रुट’ तालिम सके अनि एक हप्ता छुट्टीमा घर फर्किए। बिदा सकिएलगत्तै अजय दलगण इटहरीमा उनको पोष्टिङ भयो। ‘त्यहाँबाट करिब पाँच महिना ‘लाहुरे’ बनेरै देशको सेवा गरे।

२०७५ सालको दशैँ नजिक आउँदै थियो, उनले एक्कासि नयाँ सोच गरे अनि आफूले सानैदेखि रहर गरेको ‘लाहुरे’ हुने सपनालाई चटक्कै बिर्सिए। र, नेपाल आर्मीको जागिर छाडेर घर फर्किए।

लाहुरे’ को सपना बिर्साउने त्यो ‘सोच’

नेपाली सेनाको जागिर सुरु गर्ने बेलैमा कसम खाएका हुन्छन्, ‘भोक, निद्रा, तिर्खा केही भन्दिनँ। मेरो घर भनेकै देश हो अनि परिवार भनेकै आम नेपाली। म मेरो व्‍यक्तिगत स्वार्थबाट माथि उठेर २४ सै घण्टा देश र जनताको निम्ति ड्युटी     गरिहन्छु।’

खाएको कसमलाई सार्थक तुल्याउन खड्का पनि करिब पाँच महिना नेपाली सेनाकै जागिरमा रमाए। ‘सानैदेखि लाहुरे हुने सपना, आर्मीको बर्दी लगाएर ड्युटी गर्दा साँच्चै म देश र जनतको रक्षक हुँ जस्तो महशुस हुन्थ्यो’, खड्का नेपाल आर्मीमा बिताएको तीतामिठा पल सम्झँदै भन्छन्, ‘ड्युटीमा हुँदा, भित्र काम गर्दा सधैँ खुसी नै हुन्थेँ। कहिल्यै दु:खी भएको याद छैन। तर, जब महिना दिनको तलब बैङ्क खातामा १८ हजार ६ सय ३० रुपैयाँ आउँथ्यो, घरको ऋण, बाबु—आमाको आशा अनि आफ्नो भविष्य सम्झँन्थेँ।’

देशमा हरेक वर्ष चुलिँदै गरेको बजार भाउ अनि बढ्दै गरेको विविध कर। अनि सैनिक जवानको तलब। खड्कालाई लाग्न छाड्यो, ‘आफूले सानैदेखि देखेको लाहुरेको सपनाले उमेर ढल्कँदै गरेका बा—आमाको आशा, आफ्ना चाहना अनि भावी सन्ततिका रहर पूरा गर्न सक्छु।’ अन्तत:  उनले ‘लाहुरे’ को सपना बिर्सिएर आफ्नै गाउँमा भैँसी पालेर ‘दूध’ बेचेर पैसा कमाउने लक्ष्य लिए।

जागिर छाडेपछिको त्यो पल

जेठो ताराबहादुर, माइलो सबिन अनि कान्छो शिवजी। शिवजी परिवारका कान्छा सन्तान हुन्। उनीहरु तीनै जनालाई बा—आमादेखि हजुरबा हजुर आमासम्मले ‘लाहुरे’ या ‘लोकसेवा’ मा जागिर खुवाउने सपना बुनेका।

तर, जेठो यातायात व्‍यवसायी बने। माइलो कपडा व्‍यवसायी। कान्छोले नेपाल आर्मीमा भर्ती भएको डेढ वर्ष नपुग्दै जागिर   छाड्यो। परिवारमा एउटा छोरो भए पनि लाहुरे भएको खुसीले अनुहार राम्ररी चम्किन नपाउँदै नैराश्यता छायो।

‘घरमा दिदी बहिनी छैनन्, हामी तीन भाई मात्रै हो। घरमा सबै जनाले हामी तीनैलाई लोकसेवामा जागिर खुवाउने या लाहुरे बनाउने भन्नु हुन्थ्यो' उनले भने।

दाइहरु आ—आफ्नै पेसा गर्न थाल्नुभयो। म लाहुरे भएको केही महिनामै जागिर छाडेँ। घरका सबैजना दु:खी हुनु भयो’, शिवजी भन्छन्, ‘घरका मात्रै हैन, जागिर छाडेपछि मलाई चिन्ने सबैले भेट हुनेबित्तिकै किन बुद्धि बिगारेर जागिर छाडेको? के गर्छस् अब ? खत्तम गरिस्। बिदेश जा अब यस्तै यस्तै भन्नु हुन्थ्यो।’

नयाँ सपनालाई साकार बनाएपछि...

जागिर छाड्ने बेलमै भैँसी पालेर ‘दूध’ बेच्छु भन्ने सोच राखेका उनले करिब २१ लाख रुपैयाँ लागतमा अहिले गोरखा नगरपालिका-३ देउरालीमा बिन्धावासिनी भैँसी फार्म सञ्चालन गरिरहेका छन्। उनले आफ्नो फार्ममा हाल सातवटा उन्नत जातको भैँसी पालेका छन्।

‘मैले भैँसी पालेर दूध बेच्न थालेको धन्नै दुई हप्ता हुन लाग्यो। प्रतिमाना ७५ रुपैयाँको दरले दिनकै एक सय माना दूध बेच्छु’, उनी भन्छन्, ‘दिनमा ७५ सय आम्दानीले महिनामा झण्डै दुई लाख २५ हजार आम्दानी हुन्छ। यताउता खर्च कटाउँदा मासिक ८०/९० हजार कमाई हुन्छ जस्तो लाग्छ।’

राम्रो कमाई हुने भएको भन्दै उनले व्‍यवसायलाई बढाउँदै जाने लक्ष्य राखेको बताए। ‘सातवटा भैँसी पाल्दा मासिक ८०/९० हजार कमाई हुने निश्चित छु’, उनले भने, ‘पहिले भैँसी किन्दाको ऋण तिरेर सक्छु अनि फेरि भैँसी थप्छु।’

आफूले छाडेर अरूलाई जाँगिर दिँदा...

नेपाल आर्मीको जागिर छाडेर भैँसी पालन सुरु गरेका उनले अहिले दुई जनालाई रोजगार दिएका छन्। ‘अहिले मेरो फर्ममा दुई जना जागिर खाने गर्छन्’, उनले भने, ‘मैले जागिर छाडेपछि सबैले बुद्धि बिगारिस्, खत्तम भइस् भन्थेँ। अहिले अहो! खै हाम्लाई जागिर दिन्नस् भन्दै जिस्किन्छन्। त्यसरी जिस्काउँदा पनि मैले राम्रो गरेरै यसो भनेका हुन् जस्तो लागेर खुसी लाग्छ।’

कोरोनाको डर छैन

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि सरकारले गत चैत १० गतेदेखि मुलुकभर लकडाउन गरेको छ। लकडाउनका कारण काम थप्प भएपछि आर्थिक समस्याको चापले देशभरका हरेक पेशाकर्मीहरु चिन्तित छन्। तर, किसान निर्धक्क भएर काम गरिरहेका छन्। न त उनीहरुलाई कोरोनाको नै चिन्ता छ। न त आर्थिक मन्दीको नै।

‘म आर्मीको जागिर छाडेर भैँसी पालनमा लागेको मान्छे, मसँगै जागिर खाएका साथीहरू घर आउन पाइएन भन्दै खिन्न मन बनाएर मनभरी कोरोना लाग्छ कि भन्ने डर पालेर ड्युटी गरिरहेका छन्। अरू जागिर खानेहरु पनि काम नै भएन पैसा छैन दु:खेसो पोख्छन्’, उनी भन्छन्, ‘तर, मलाई आनन्दै छ। काम पनि छोड्न परेको छैन। आफ्नै घरमा छु। कोरोनाको डर पनि छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.