|

दाङ। २०७६/७७ सकिन करिब २ हप्ता बाँकी हुँदा दाङमा विकास निर्माणले गति लिएको छ। असारे विकास रोकिनुपर्ने बताइरहँदा दाङमा भने असार मसान्तभित्रै विकास निर्माणका काम धमाधम भइरहेका छन्। अहिले जिल्लामा नाला खन्ने, सडक फराकिलो बनाउने, नयाँ ट्रयाक खोल्ने र सडकमा कालोपत्रे गर्ने काम तीव्र गतिमा हुन थालेका छन्। 

पानी परिरहेको अवस्थामा पनि सडक पिचको कामलाई तीव्रता दिइएको छ। पानी परिरहेकै अवस्थामा भइरहेका सडक कालोपत्रे लगायत विकासको काम देखेर स्थानीयले प्रश्न उठाउन थालेका छन्। घोराही उपमहानगर ३ का अमित चौधरीले असारे काम पैसा सिध्याउने मेसो मात्र भएको बताए। पूर्वाधारहरु बनाउँदा समयअनुकूल बनाउनुपर्नेमा उनको भनाइ छ। 

घोराही बजारको मुख्य चोकमा खाल्डैखाल्डा छन्। सडकमा भएका नाला भत्किएका छन्। खाल्डो पुर्ने नाममा जनताको आँखामा छारो हालिएको घोराही उपमहानगर –१५ का शिवप्रसाद आचार्य बताउँछन्। असारमा गरिने विकासलाई पानीले बगाएर लैजाने र यस्तो कामले बजेट सक्नेबाहेक अरु केही नहुने उनको भनाइ छ। 

‘असार मसान्त आएको छ, काम गरेपछि अर्काे साल बजेट आउँछ , फेरि यसरी नै काम हुन्छ। यो बाटो बनाएको एक वर्ष भएको छैन, पूरै खाडल परिसकेको छ,’ उनले भने, अहिले बजेट सक्न यो काम भएको हो।’त्यसैगरी घोराही १४ का सुवास देवकोटा पनि असारमा हुने विकास निर्माण देखाउनकै लागि मात्र भएकोमा शंका गर्छन्। अहिले गरिएको काम दिगो नहुने भन्दै उनले असारे काम रोक्नुपर्ने समेत बताए। 

‘पुरानै संस्कार रोक्न सकिँदैन’

जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले पुरानै संस्कार भएका कारण यस्तो समस्या भएको बताए। आर्थिक वर्ष सकिन लागेको र काम समयमै नसकिए बजेट फ्रिज हुने भएकाले जसरी पनि असार मसान्तभित्र काम सक्नुपर्ने भएकाले यस्तो भएको उनको भनाइ छ। ‘असारदेखि भदौसम्म हामीले नदीजन्य उत्खनन बन्द गर्छाैं,’ उनले भने, ‘तर विकासको काम असोजदेखि सुरु गर्नुपर्ने तर असोजमा काम नभई असार मसान्तभित्र काम सक्नु पर्ने पुरानै संस्कार छ। यो अन्त्य नहुदाँ समस्या यो समस्या रहन्छ।’ 

स्थानीय तहलाई दोष देखाइयो

तर असारमा हुने धेरै विकास निर्माण गुणस्तरीय नहुने सडक डिभिजन कार्यालयले बताउँदै आएको छ। अधिकांश सडक कालोपत्र गर्ने काममा अग्रपंक्तिमा स्थानीय तह भएकाले वर्षाका बेला गरिने विकासका काम कामहरू गुणस्तर नहुने सडक डिभिजन दाङका इन्जिनियर रिकेस महर्जन बताउँछन्। 

वर्षामा सडक पिच हुँदा गुणस्तरीय काम नहुने उनले पनि बताए। ‘गुणस्तर सडक नभएपछि अलकत्रा उप्किँदै जान्छ,’ उनले भने, ‘त्यसैले विकास निर्माणका काम जेठसम्म मात्र हो। त्यो समय सडक पिच गर्न उपयुक्त हो। 
अहिले सडकले सानो सानो कालो पत्र गर्ने काम बाहेक ठूलो पिच गर्ने काम नगरेको समेत उनले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.