|

पत्रकारिता आजभोलि डढेलोकारिता बनेको छ। पत्रकारका बिल्ला भिरेकाले बिना स्रोत र आधारका कुरा लेख्छ अनि त्यो समाचारका रुपमा सयौं अनलाइनहहरुमा एकैपटक प्रकाशित हुन्छन्। त्यसपछि तिनै कुरा सामाजिक सञ्जालमार्फत् शेयर हुन्छन्। यसलाई डढेलो नभनेर के भन्ने?

अझ विदेशमा भएका नेपाली समाचार लेख्नेहरु यस मामलामा अझ एक कदम अगाडि छन्। त्यसो त आफू विदेशमा बसेको भएर पनि त्यस्तो लाग्या हुन सक्छ। त्यो सायद पाठकहरु आफैंले पनि छुट्टाउन सक्नुहुन्छ।

उत्तर अमेरिकाका यस्तै एकादजना सिकारु पत्रकारहरुका कुरा सुन्दा यो पंक्तिकार लाजले चुपचाप हुनुपरेको छ। उनीहरु आफूलाई सिकारु भन्न पटक्कै रुचाउन्नन् त्यतिमात्र हैन उनीहरुले समाचारको माथि नै वरिष्ठ पत्रकार फलानो लेखेर समाचारहरु सम्प्रेषण गरेका हुन्छन् अनि ती समाचारलाई जस्ताको तस्तै प्रकाशित गर्ने अनलाइन, छापाहरु प्रशस्त भेटिन्छन् अचम्म यहाँनेर पनि लाग्छ। हामीले कसरी तिनलाई सिकारु भन्नु सिकारु त बरु यसरी भन्नेहरु नै हौं।

हामी सधैं पत्रकारिताका विद्यार्थी नै हौं भन्छौं कसैले वरिष्ठ भन्यो भने उल्टो तिनको हामी दोहोलो काढ्छौं। पत्रकारको अगाडि वरिष्ठ झुण्डाउनु आफैंमा अहम् प्रदर्शन गर्नु हो। किन केको आधारमा वरिष्ठ भए पत्रकार? वरिष्ठ हुनलाई अन्य पेशामा आआफ्नै तौर तरिका छन् परीक्षा हुन्छन् त्यसपछि सम्बन्धित निकायले उनलाई वरिष्ठताको मान्यता दिन्छ। तर पत्रकारको त्यस्तो के आधार छ र वरिष्ठ पत्रकार बन्छ अहिलेसम्म बुझ्न नसकेको कुरो।  यस्तै स्वघोषित वरिष्ठहरुको कुरो गर्दा गर्दै कुरो अन्तै मोडिएछ। 

आजकाल परदेशमा विशेष गरेर सयौं अनलाइनहरु छन् जो नेपाली भाषामा प्रकाशित हुन्छन्। तिनका समाचार स्रोतभनेका नेपालमा जसले पहिले कुनै अनलाइनमा केही कुरा प्रकाशित भयो त्यो सिधै कपिपेस्ट पत्रकारिता हो भने विदेशमा रहेका नेपालीहरुका बारेमा विदेशमा रहेका कुनै पत्रकारले एउटा समाचार दियो भने त्यही समाचारलाई एउटै व्यक्तिले सयौं अनलाइनहरुमा पठाउँछ त्यस्तो कर्मलाई डढेलो लगाएको भनेर आफैं त्यसरी समाचार पठाउने मख्ख पर्छ र यति सय अनलाइनहरुमा मैले पठाएको समाचार प्रकाशित भएको छ भनेर आफ्नो आफैंले बद्‍ख्वाईं गर्न ऊ चुक्दैन।

यस्ता व्यक्तिबाट लेखिएका समाचारको विश्वसनीयतामाथि मात्र हैन आजभोली घरघरमा भएका विहे भोज ब्रतबन्ध मात्र हैन सराद्देका समेत समाचार बनाउन आतुर हुन्छन्। सबैभन्दा दुःख लाग्दो कुरो कसैको मृत्युभएमा तिनको अन्तिम संस्कारमा पुगेर मृतकको तस्बिर कुनै प्रहरी अनुसन्धानका लागि प्रहरीले लाशको तस्बिर जसरी उतार्छ त्यही शैलीमा तस्बिर उतार्नेहरु र त्यसलाई अनलाइनहरुमा राख्नेहरुदेखेर पनि दया लाग्छ।

त्यसो त आजभोली सामाजिक संजालमा अली बहस भएर पनि हुनसक्छ मृतकको अगाडि पुगेर सेल्फी प्रचलन भने यता देख्न छाडिएको छ। वास्तवमै आजभोलि समाचार हेर्नुपर्छ नेपालका आफूलाई अब्बल दर्जाका पत्रकार भन्नेहरुले चलाएका अनलाइन हुन् वा विदेश स्वदेशबाट चलेका अनलाइन हुन् तिनका समाचार कसले कसको सारेका हुन् बुझ्न मिहनेत नै गर्नुपर्छ। तर पनि त्यस्ता कतिपय अनलाइनहरुले भने सिधै फलानोबाट साभार भनेर दिन थालेका छन् जुन सकारात्मक भन्नुपर्छ। तर विदेशतिरका कतिपय अनलाइनहरुले सकेसम्म त आफ्नै र आफन्तको समेत बाइलाइनमा नाम राखेर कपिपेस्ट समाचारहरु प्रयोग गरेको समेत देखिन्छन्।

सबै कुरा समाचार हुँदैनन् र समाचार के हो समाचार कसरी बनाउने भन्नेबारेमा उत्तर अमेरिकामा रहेको नेपाल अमेरिका पत्रकार संघले समेत समाचार लेखनसम्बन्धी सामान्य केही घण्टाको भए पनि कार्यशाला राखौं भनेर नभनेको होइन तर त्यसरी समाचार लेख्न सिक्दा वरिष्ठ पत्रकार भनेर बाइलाइन समेत दिइसकेका पत्रकारहरुलाई अलि अप्ठारो पर्ने भएर होला खासै कसैले चासो राखेको देखिएनन्।

हात हातमा मोबाइल फेसबुक र अनलाइन लाइभका कारण सबैलाई पत्रकार हुन सजिलो बनाएको छ। यो समाजका लागि राम्रो कुरा पनि हो। समाचारबाट कोही कतै बंचित भएका छैनन् अझ फेसबुक लाइभ भएपछि अरु लेखिने समाचारको महत्व हुने कुरै भएन। 

हुँदा हुँदा एक जना स्थानीय नेपाली कविले भने मेरो कविता तपाईंको अनलाइनमा राखिदिनुपरो पंक्तिकारले भन्यो, हुन्छ टाइप गरेर तलको इमेल ठेगानामा पठाउनुहोस् हेरौंला कस्तो छ। भनेपछि उनी भन्छन् हैन केको टाइप गर्नुपरो नि मैले फेसबुकमा बाचन गरेको भिडियो छ त्यही राखिदिनु पो भनेको त रे। त्यस्तो जवाफ आएपछि चुपचाप उनीसँगको सम्वाद बन्द गर्नु बाहेक अरु कुनै उपाय रहेन।

यी त भए डढेलोकारिताका कुरा। आजभोलि अर्को ठूलो समस्या भनेको गलत समाचार सम्प्रेषण गरेर हल्ला फैलाउने। यो डढेलोकारिताभन्दा पनि खतरनाक पत्रकारिता चलिरहेको छ। 

अमेरिकामा राष्ट्रपतीय निर्वाचनताका यस्तै गलत समाचारकै कारण अमेरिका जस्तो देशका मतदाताहरु समेत प्रभावित बनेका तथ्यांकहरु निकालिएका छन्। 

गलत समाचारको बहाव नेपाली माझ अझ धेरै आउन थालेका छन्। विशेषगरेर विदेशमा बस्ने नेपालीहरु त्यसमा पनि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनपछि अमेरिकामा रहेको नेपालीहरुका बारेमा निकालिएका गलत समाचारहरुको बाढीले अमेरिकामा हुनेहरुलाई भन्दा नेपालमा हुने नेपाली र आफन्तहरुलाई बढी नै चिन्तित तुल्याएका खबर नेपालबाट अमेरिकामा आउने फोन सम्पर्कबाट थाहा हुन्छ कति धेरै प्रभाव नेपाल र नेपाली पत्रकारितामा पर्‍या भन्ने कुरा।

हो, अमेरिकामा राष्ट्रपति ट्रम्पको उदयसँगै गैरकानुनी रुपमा बसेका अपराधिक कृयाकलापमा आवद्ध आप्रवासीहरुलाई चाँडोभन्दा चाँडो उनीहरुको सम्बन्धित देशमा पठाउने, सात मुस्लिम राष्ट्रका नागरिकहरुलाई अमेरिका आउनमा रोक जस्ता कुराहरु लागू गर्न राष्ट्रपतिले निर्देशन दिएका हुन्। तर जो जो आप्रवासी हुन् तिनलाई लाग्छ समाउँदै उसैको देश फिर्ता पठाउनेजस्ता समाचारहरु दिएर अमेरिकामा बस्ने नेपालीहरुलाई भन्दा बढी नेपालकै नेपालीहरुलाई आतंकित तुल्याइदिए। सुझ न बुझ लेखिएका यस्ता समाचार पढेर भने अमेरिकामा रहेका नेपालीहरु अचम्मित हुनु र नेपालमा भएका घरपरिवारमा हामीलाई केही भएको छैन है भन्दै संझाउनुपर्ने अवस्था आएको देखियो। 

हावा नआई पात हल्दिैन भनेजस्तो हो राष्ट्रपति ट्रम्पले आप्रवासीहरुप्रति कडा नीति अबलम्बन गर्न खोजेकै हुन् तर जो यहाँ स्थायी रुपमा ग्रिनकार्ड लिएर वा कानुनी रुपमा विभिन्न व्यवसाय गर्दै बसेका छन् तिनीहरुका लागि उनले लिएका नीतिले कुनै असर पर्ने तत्काललाई देखिदैन।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.