तालाबन्दी खोल्न विप्लव माओवादीको अखिल क्रान्तिकारी तयार

|
फोटो : स्ववियू चुनावको मिति तय गर्न बसेको बैठक

काठमाडौं : स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव फागुन १८ गते गर्ने सहमति प्रमुख विद्यार्थी संगठनबीच भएको छ। विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारीसहित असन्तुष्ट विद्यार्थी संगठनहरुसँग प्रमुख तीन दलका विद्यार्थी संगठनहरुले चुनाव सार्ने सहमति गरेका हुन्। यसअघि फागुन १४ गते निर्वाचनको मिति तोकिएको थियो। तर उक्त मितिमा निर्वाचनमा जान अधिकांश संगठनहरु तयार नभएपछि निर्वाचन मिति सारिएको हो। 

त्रिवि उपकुलपति प्रा.डा. तिर्थ खनियाँसहित प्रमुख विद्यार्थी संगठनका प्रतिनिधिबीच किर्तिपुरस्थित त्रिवि स्मृति भवनमा बसेको बैठकले चुनाव ५ दिन पर सार्ने निर्णय गर्‍यो। बैठकमा सहभागी माओवादी केन्द्र समर्थित अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले प्रमुख विद्यार्थी संगठनबीच १८ गते निर्वाचन गर्ने सहमति भएको जानकारी दिए। '१८ गते निर्वाचन हुन्छ। १८ गतेभन्दा परको विकल्प छैन्। त्यसैका लागि सहमति भएको छ,' उनले भने।

एमाले समर्थित अनेरास्ववियू अध्यक्ष नविना लामाले चुनावका लागि अघि बढ्नुपर्ने बताइन्। कांग्रेस समर्थित नेपाल विद्यार्थी संगठनका अध्यक्ष नैनसिंह महरले चुनावको मिति सार्ने सहमति भएको र अब तोकिएकै मितिमा चुनाव हुने बताए।

विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेले सहमतिपछि आफ्नो संगठनले देशभर लगाएका ताला खोल्ने बताए।' हामी तालबन्दी खोल्छौ। चुनावमा जान्छौ। पार्टी महाधिवेशनको कारणले आवश्यक तयारी गर्न पाएका थिएनौं। हामी निर्वाचन  विरोधी होइनौं,' उनले भने।

संघीय समाजवादी फोरम समर्थित समाजवादी विद्यार्थी फोरम नेपालका अध्यक्ष विवेक राईले यस विषयमा आफ्नो सहमति नरहेको बताए। ' हामी चुनावमा जादैनौं,' उनले भने,'चुनावी तयारी बाँकी छ। हामी भ्याउँदैनौ। चुनाव पूर्ण समानूपातिक हुनुपर्छ।'

अखिल छैटौंका अध्यक्ष विमल पोखरेलले पनि पूर्ण प्रत्यक्ष ढंगले निर्वाचनमा जानुपर्ने बताए। उनले यस विषयमा बैठकमा 'नोट अफ डिसेन्ट' राखेका थिए। 

केही विद्यार्थी संगठनले असहमति प्रकट गरेपछि शुक्रबार प्रमुख विद्यार्थी संगठनबीच अर्को बैठक बोलाइएको छ। बिहीबारको बैठकमा विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारीले देशभर लगाइएका ताला खोल्ने प्रतिवद्धता व्यक्त गरेको छ। 

के-के भयो सहमति

बिहीबारको बैठकमा अखिल क्रान्तिकारीले देशभर लगाएका ताला खोल्ने विषयमा प्रतिबद्धता व्यक्त गरेको छ। यसअघि अखिल क्रान्तिकारीसहितका असन्तुष्ट विद्यार्थी संगठनले पूर्ण समानूपातिक निर्वाचन हुनुपर्ने माग राखेका थिए। असन्तुष्ट संगठनहरुको माग सम्बोधन गर्नका लागि आयोग गठन गर्ने निर्णय बिहीबारको बैठकमा भएको छ।

त्यस्तै फर्जी भर्नाका विषयमा छानविन गर्नका लागि समिति गठन गर्ने निर्णय भएको छ। बैठकमा निर्वाचन कार्यतालिका हेरफेर गर्ने तर आचारसंहिता पुरानै रहने सहमति भएको छ।  

त्यस्तै क्याम्पसहरुमा नयाँ विद्यार्थी भर्ना नगर्ने सहमति सबै पक्षबीच भएको छ। क्याम्पसहरुमा चुनाव विरोधी कुनै पनि गतिविधि नगर्ने सहमति प्रमुख विद्यार्थी संगठनहरुले गरेका छन्।

यस्तो छ सहमतिपत्र : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.