|

पर्वत : नेकपाका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीलाई नै  सरकारमा निरन्तरता दिनुपर्ने माग गर्दै पोखरामा उनका समर्थकहरूले नाराबाजी गरेका छन्।

बिहीबार साँझबाट नै शुक्रबार बिहान ८ बजे पोखराको चिप्लेढुंगामा जम्मा भएर ठूलो समूहमा नाराबाजी गर्ने गरी प्रचारप्रसार गरिएको भए पनि ठूलो सङ्ख्यामा भने मानिसहरू देखिएनन्। बिहीबार बिहान सिमसिम पानी परिरहेको बेलामा चिप्लेढुंगामा जम्मा भएर नाराबाजी गरेका उनीहरूले ५ वर्षको स्थायी सरकारको लागि भनेर मतदान गरिएकाले अहिले नै केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदबाट हटाउन नहुने भन्दै नाराबाजी गरेका थिए।

नाराबाजीमा सहभागी भएकाहरूले वर्तमान सरकारलाई अस्थिर बनाउन भारतको इसारामा नेपालकै नेताहरू लागिपरेको आरोप लगाउँदै भारतबाट चलेकाहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न कुर्सीको लडाइँमा लागेको दाबी गरेका छन्।

‘भारतीय दलालहरूको बसमा परेर के.पी. ओलीको विरुद्धमा नेताहरू लागेका छन्। यसको विरोध गरेका हौँ।’ नाराबाजीमा सहभागी एक युवतीले भनिन्, ‘पाँच वर्ष स्थायी सरकार पाइन्छ भनेर मतदान गरेका हौँ, हाम्रो म्यान्डेट पूरा गर्न सबैले सहयोग गरौँ। बन्द र अँध्यारो कोठामा बसेर गर्ने कोठे बैठकले सरकार फेर्न पाईँदैन्। सरकार फेरिएमा हामीहरूको भविष्यमाथि पनि खेलबाड हुन्छ।’

भारतले नेपालमाथि गरेको नाकाबन्दीको बेलामा ओली सरकार नझुकेको, प्रधानमन्त्री ओली आफ्नो कठिन स्वास्थ्य अवस्थाका बाबजुद पनि नेपाललाई विकासोन्मुख देशबाट विकसित देश बनाउन लागि परेको, भारतले मिचेको नेपाली भूमिको वास्तविक नक्सा जारी गरेको, देशमा रेल र पानी जहाज चलाउन लागेको लगायतका कारण ओली नै सक्षम प्रधानमन्त्री भएकोले वर्तमान सरकार नरहे नेपालीको स्वाभिमान गुम्ने नाराबाजीमा सहभागी भएकाहरूले बताएका छन्।

उनीहरूले ‘केपी ओली जिन्दाबाद’, ‘आजलाई होइन भोलिलाई, ५ वर्ष ओलीलाई’, ‘स्थायी सरकार कायम गर’, ‘भारतीय दलाल मूर्दावाद’, ‘विदेशी हस्तक्षेप मुर्दावाद’, ‘जनमतको कदर गर’, ‘नागरिकता विधेयक पारित गर’ लगायतका नाराहरू लगाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.