|

बिहीबार पाकिस्तानको सिन्ध प्रान्तमा भएको आतंकवादी हमलामा कम्तिमा ७२ जनाको मृत्यु भएको छ। सिन्ध प्रान्तको शेवानस्थित एक तीर्थस्थलमा भएको आत्मघाती बम बिस्फोटमा २५० भन्दा बढी घाइते भएको पाकिस्तानको जियोटिभीले जनाएको छ।

मृतकमध्ये ४३ जना पुरुष, ९ महिला र २० बालबालिका भएको पुष्टि भएको समाचारमा जनाइएको छ। ठूलो संख्यामा महिला र बालबालिका प्रार्थानामा सहभागी भैरहेका बेला उक्त शक्तिशाली बिस्फोट भएको हो।

अलजजिराका संवाददाता कमल हैदरले इस्लामावादबाट भनेका छन्- ‘हामीलाई भनिएको छ कि मृतकको संख्या अझ बढ्न सक्छ। सयौँ घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा उपचारका लागि लगिएको छ र ती अस्पतालमा त्यति राम्रो छैन।‘

आतंकवादी संगठन आईएसले घटनाको जिम्मेवारी लिएको अलजजिराले जनाएको छ। 

ठूलो समूह प्रार्थानाका लागि भेला भएको बेला शक्तिशाली बिस्फोटन भएको सिन्धका स्वास्थ्य मन्त्री सिकन्दर मन्धारोले बताएका छन्। ‘शेवानमा ठूलो आपतका लागि सुविधासम्पन्न स्वास्थ्य सेवा छैन। त्यसैले अहिलेलाई हाम्रो पहिलो प्राथमिकता हुन्छ कि घाइतेहरुलाई सहयोग गरौँ।‘

घटनास्थलबाट नजिकको अस्पताल ७० किलोमिटरको दूरीमा रहेको अलजजिराले जनाएको छ।

आतंकवादी हमलापछि सुरक्षाको कारण देखाउँदै पाकिस्तान अफगानिस्तान सीमा बन्द गरिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.