पर्यटक नआए होटल मात्रै खोलेर अर्थ हुँदैन : पर्यटनमन्त्री

|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताएका छन्। 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताए। अहिलेको पर्यटक-ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने उनले बताए। 

व्यवसायीहरुले सञ्चालन अनुमतिका लागि पटक पटक आग्रह गरेपनि छलफल चलिरहेको उनले बताए। होटल सञ्चालनमा आएपछि सतर्कता अपनाउने विषयमा पर्यटन बोर्डसँग मिलेर काम भइरहेको उनले बताएका छन्।

'मान्छे आएर बस्दा, पर्यटक आउँदा होटल सुरक्षित नभए, सामाजिक दुरी नभए, अरु उपाय अवलम्बन नभएको पाइए होटल खोलेर मात्रै को आउँछ? त्यसैले प्रत्येक पर्यटकीय क्षेत्रहरुलाई आवश्यक प्रोटोकल तयार गर्नुहोस् भनेर जारी भएको छ', उनले भने, 'त्यो सबै ठाउँमा पुगेको छ। सबै होटल व्यवसायीहरुले त्यो अनुसार आफूलाई तयारीमा राख्नुपर्यो।' 

व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उनले बताए। एयरलाइन्सहरुले पनि आवश्यक प्रोटोकल बनाएकाले सञ्चालनका लागि केही समय अझै लाग्‍ने उनले बताए। होटल र एयरलाइन्ससँग अरु कुरा पनि जोडिएको उनको भनाइ थियो। 

कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उनले अरु देशहरुको तथ्यांक अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिसँग सल्लाह गरी छिट्टै सञ्चालनका लागि सिसिएमसीमा प्रस्ताव लिएर जाने बताएका छन्। 

मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण काम आगामी डिसेम्बर २० सम्म सम्पन्‍न हुने बताए। निर्माणको काम सकिएपछि करिब तीन महिना सञ्चालनको पूर्व तयारी गरी व्यवसायिक उडान भर्ने जानकारी दिए। 

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी भएको लकडाउनका कारण पर्यटन क्षेत्रमा ८ लाखको रोजगारीमा असर परेको उनले बताए।

सरकारी र निजी क्षेत्रबाट गरी पर्यटन क्षेत्रमा १० खर्ब बढीको लगानी रहेको उल्लेख गर्दै उनले साढे २ लाख प्रत्यक्ष र ८ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको बताए। कोभिडका कारण कर्मचारीहरुलाई तलब दिनुपर्ने संकट उत्पन्‍न भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.