युरिया मल आउन अझै समय लाग्‍ने

|

पर्सा : ​गत माघ र फागुन महिनामा कृषि सामग्री कम्पनीले मल खरिदका लागि खोल्नुपर्ने विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) रद्द गर्दा यो समयमा मल अभाव भएको छ। टेण्डर गरेर मगाएको मल नेपाल भित्रिन करिब ४ महिनाजति लाग्छ।

ग्लोबल टेण्डर रद्द गरी तुरुन्तै भारतबाट मल मगाउँदा अमेरिकी डलरमा आउने कमिसन खानकै लागि जिम्मेवार तहका केही कर्मचारीले यो खेल खेल्ने गरेको बुझिएको छ। तर यो पटक कोरोना भाइरस महामारी नियन्त्रण गर्न लकडाउन लगाइएपछि कर्मचारीको सो खेला पनि विफल भएको स्रोतले बताएको छ।

विश्वव्यापी बोलपत्र आह्वान पनि नगर्ने र भारतबाट कमिसन खाएर ल्याउन पनि नसकेपछि यो पटक देशैभरी मल अभाव भएको छ। नेपालका अधिकांश किसानहरूले यसपटक मकैबालीमा हाल्ने युरिया मल नै पाउन सकेका छैनन्‌। 

विभागीय मन्त्री घनश्याम भुसालले मन्त्रालयको कुरा बुझ्दै गर्दा नै कृषि सामग्री कम्पनीका केही अगुवा कर्मचारीले साविक झैं 'जीटुजी' प्रकृयाबाट मल खरिद गर्न खोजेका थिए। 'तर त्यो उद्देश्य पूरा भएन,' कम्पनीका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए।

अहिलेको सिजनमा डीएपी र पोटास उपयुक्त 

धान खेतीको यो सिजनमा आवश्यक पर्ने मुख्य रासायनिक मल डीएपी र पोटास हो। डिएसपी आफैँमा १८ प्रतिशत नाइट्रोजन हुने गर्दछ। धान रोप्दाको समयमा त्यो १८ प्रतिशत नाइट्रोजन र ४६ प्रतिशत फस्फोरस मल​ पर्याप्त हुने कृषि वैज्ञानिकहरू बताउँछन्‌

​धान रोपेको २२ दिनदेखि ३० दिनभित्र पहिलो 'टप ड्रेसिङ्ग'का लागि युरिया मल प्रयोग गर्नु उपयुक्त हुन्छ। त्यसपछि पनि फसलको अवस्था हेरी विज्ञको परामर्शअनुसार युरिया मल प्रयोग गर्दा उत्पादन राम्रो हुने क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, प्रादेशिक कार्यालय परवानीपुरका निर्देशक केशव श्रेष्ठले जानकारी दिए।

कृषि ज्ञान केन्द्र पर्साका बाली संरक्षण अधिकृत शम्सुल हक तराईको खेतीयोग्य जमिनमा उर्वराशक्ति सन्तुलनमै राख्ने हो भने मनलाग्दी रासायनिक मल प्रयोग गर्न नहुने, यसो गरेमा दीर्घकालसम्म उत्पादनमा असर पर्ने बताउँछन्‌।

लकडाउनमा पनि डिएपीको बिक्री बढ्यो 

मुलुकमा नै सबैभन्दा बढी खेती हुने धानबाली रोपाइँको सिजनमा स्वभावैले अन्य समयमा भन्दा बढी मात्रामा रासायनिक मल आवश्यक पर्छ। यो सिजनमा अधिकांश किसानले डीएपी र पोटासको जोहो गर्छन्।

बाहिरिएका युवा पनि यो वर्ष कोरोना महामारीका कारण स्वदेश फर्किएर खेतीपातीमा व्यस्त भएका छन्‌। त्यसैले यो पटक अघिल्लो अवधिमा भन्दा १० हजार मेट्रिक टनभन्दा बढी डीएपी मल बिक्री भएको छ। 

यो सिजनभर करिब ८० हजार मेट्रिक टनजति डीएपी खपत हुने आंकलन गरिएकोमा ९० हजार मेट्रिकटन मल बिक्री गरि सकिएको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकारी गोरखनाथ केसीले थाहा खबरलाई जानकारी दिए। कम्पनीको गोदाममा अहिले युरिया ५० मेट्रिक टन, डिएपी ३०० मेट्रिक टन र पोटास ३३६ मेट्रिक टन मौज्दात बाँकी छ। आएको सबै मल आधिकारिक सहकारी विक्रेता र किसानलाई दिइसकिएको केसीले बताए। 

युरिया मल आउन अझै समय लाग्ने 

रासायनिक मलको जोहो गर्ने कृषि सामग्री कम्पनी लि. र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमध्ये साल्ट ट्रेडिङ्ग कर्पोरेसनसँग डीएपी मल एक र्‍याक(२० हजार ५०० मेट्रिक टन) मौज्दात रहेको वीरगन्जका प्रमुख अमोज लामिछानेले बताए। 'भारतको गुजरातमा अर्को र्‍याक पनि आएर रोकिएको छ, सम्भवतः पाँच छ दिन भित्रमा त्यो पनि आइपुग्छ, अनि एकै पटक दुवै मल वितरण गर्ने छौं', उनले भने।

युरिया मल भने साल्ट ट्रेडिङ्ग र कृषि सामग्री कम्पनी दुवै निकायमा सकिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। त्यसैले मल अभाव हुन नदिन भन्दै शुक्रबार कम्पनीको केन्द्रिय कार्यालयमा युरिया र थप डिएपी मल मगाउन टेण्डरको प्रकृया अगाडी बढाइएको छ।

मलमा विचौलियाको छल

केही बिचौलियाका कारण यो सिजनमा पनि मलको कृत्रिम अभाव सृजना भएको खुलेको छ। सिन्धुली, काठमाडौं, गजुरी, त्रिशुली, धुलिखेल, हेटौंडा, चितवन, कावासोती, पोखरा, दमौली र तराईका पर्सा, बारा, सर्लाही, धनुषा लगायतका क्षेत्रमा मल वितरण गर्दै आएको कृषि सामग्री कम्पनीको गोदाम रित्तिएको छ।

'यो भन्दा पहिले आएको सबै मल बाँडिएको छ, तर किसानले अतिरिक्त रकम तिरेर मल किन्दैछन् भन्ने सुनिँदै छ, यो सिजनका लागि डीएपी र पोटास मल खासै अभाव नहुनपर्ने हो। बजारमा कृत्रिम अभाव गरिएको बुझिएको छ, निगरानी बढाउँदै छौं, अन्यथा भए आगामी दिनमा त्यस्ता बिक्रेतालाई मल उपलब्ध गराइनेछैन,' सूचना अधिकारी केसीले भने।

मूल्यसूचि भन्दा बढिमा बेच्छन् व्यापारी

राज्यका दुवै आधिकारिक बिक्रेतासँग मल खरिद गरी लाने सहकारी र साना निजी फर्महरुमा केहीले मलको कृत्रिम अभाव सृजना गर्ने गरेका छन्। डीएपी मल बिक्रीको हिसाबले यो वर्ष पनि खासै अभाव हुने थिएन। तर बीचकै केही कारोबारीले लकडाउनको फाइदा उठाई किसानलाई बढि मूल्यमा बिक्री गरिरहेका छन्।

फसल बढी उत्पादन गर्ने मनसायले किसानले असन्तुलित रासायनिक मल प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास पुर्‍याउने गरेको पाइएको छ। रासायनिक मलको बढि प्रयोगले माटोको अम्लीय र क्षारीयपन (पीएच) बढ्ने र उत्पादन घट्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.