|

एजेन्सी : कोरोना भाइरस महामारीको चपेटामा नराम्ररी फसेको दक्षिण अमेरिकी देश ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउनुपर्ने कानून स्वीकृत गरेका छन्।

यो कानून लागु भएसँगै अब ब्राजिलका नागरिकले सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ।

उनले चर्च, स्कूल, पसल तथा उद्योगमा पनि मास्क लगाउनु पर्ने व्यवस्थामा भने भिटो प्रयोग गरेका छन्। यस्ता स्थानमा मास्क अनिवार्य गर्दा त्यसले सम्पत्तिको अधिकार हनन हुने बोल्सोनारोको दाबी छ।

जोखिममा रहेको समूहलाई सरकारले मास्क उपलब्ध गराउनुपर्ने तथा व्यवसायिक फर्महरुले तिनका कर्मचारीलाई मास्क दिनुपर्ने व्यवस्थामा पनि बोल्सोनारोले भिटो लगाएका छन्।

अमेरिकामा जस्तै ब्राजिलमा पनि मास्क लगाउने विषय विवादास्पद बनेको छ र कतिपय अवस्थामा राजनीतिकरण पनि भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै बोल्सोनारो पनि मास्कको लगभग विपक्षमा थिए र उनले पनि ट्रम्पले जस्तै कोरोना भाइरसलाई सामान्य रुपमा लिँदै आएका थिए। बोल्सोनारोले निकै कम समय मात्रै मास्क लगाएका छन्।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढि रहेपनि गएको महिनादेखि नै ब्राजिलका शहरहरु खुला गर्न थालिएका छन्।

दक्षिण अमेरिकामा सबैभन्दा धेरै जनसंख्या भएको ब्राजिल कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ। 

ब्राजिलमा अहिलेसम्म झण्डै १५ लाख मानिसमा संक्रमण पुष्टि भएकोमा ६१ हजार पाँच सय भन्दा बढीको ज्यान गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.