|

काठमाडौं : उपत्यकाको ढलमा पनि कोभिड १९ को भाइरस फेला परेको तथ्य सार्वजनिक भएको छ। सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको एक अध्ययनले  उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको जनाएको छ।

 (सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’  अध्ययनले यस्तो तथ्य फेला पारेको संस्थाका प्रमुख डा. दिवेश कर्माचार्यले जानकारी दिए।

'हामीले उपत्यकाका चार ठाउँको ढलको अध्ययन गरेका हौं। तीमध्ये २ ठाउँमा कोभिड-१९ को भाइरस पत्ता लागेको छ', डा. कर्माचार्यले भने, ' यो भाइरस चीनको वुहानमा देखिएको भाइरस जस्तै मिल्दोजुल्दो रहेको छ।'

कुन कुन स्थानको ढलको परीक्षण गरिएको भन्नेबारे नबताए पनि डा. कर्माचार्यले  विगत तिन महिनादेखि अध्ययन गरिएको बताए। कोरोना संक्रमित भएको व्यक्तिको दिसामा पनि कोरोना भाइरस देखिँदै आएकोले समाजमा कोरोना फैलिएको छ या छैन भन्नेबारे थप प्रमाण निकाल्न ढलको नमुना परीक्षण गरिएको डा. कर्माचार्यले जानकारी दिए।

हाल नेपालमा कोरोनाको परीक्षण व्यापक नभएकोले पनि कोरोनाको फैलावट कहाँ कहाँसम्म फेलिएको छ भन्नेबारे भन्न सकिने अवस्था छैन। तर, यो तथ्यले कोरोनाको परीक्षणको दायरा उच्च बनाउनुपर्ने देखाएको छ। डा. कर्माचार्यले भने, 'वृहत अध्ययनले अब कोरोना परीक्षण कहाँ कहाँ कसरी गर्ने भन्नेबारे थप मद्धत गर्ने र किटको बचत हुनेछ।'

जनस्वास्थ्य विज्ञ समिरमणि दीक्षितले यो अध्ययनको नतिजाले कोरोना फैलिने संकेत गरे। अब कोरोना परीक्षण व्यापक बनाउनुपर्ने आवश्यकता देखिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.