संवादबाटै नेकपाको विवाद मिल्ने दाबी

|

काठमाडौं : भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले स्थायी समितिका एजेन्डासँग संसद कारबाहीले मेल नखाने बताएकी छन्। सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकका एजेण्डा र संसद अधिवेशनको कुराहरु नितान्त फरक भएको उनले बताइन्।

'पार्टीको स्थायी समिति बैठकका एजेण्डा र चालु संसद अधिवेशन मेल खाँदैन। अधिवेशन कहिले बोलाउने, कहिले बन्द गर्ने, संसदलाई के बिजनेस दिने त्यो सरकारको कुरा हो। हामीले बजेट ल्याउनु थियो। यस्तो महामारीमा पनि अधिवेशन बोलाउनु पर्‍यो बोलायौँ। बजेट पास भयो केही विधेयकहरु छलफल गर्नुपर्ने थिए सहमति जुटेन बिजनेस थिएन', उनले भनिन्, 'संसद भनेको ठट्यौली मात्र चलाइरहने संस्था होइन । एजेण्डा थिएन, बिजनेस थिएन, सरकारले रोक्यो। यसमा स्थायी कमिटी र यसको कहीँ मेल खाँदैन।'

संसद कहिले सुरु गर्ने, कहिले अन्त्य गर्ने, संसदलाई के काम दिने भन्ने कुरा सरकारको भएकाले नेकपाको स्थायी समितिका एजेन्डासँग कुनै पनि हालतमा मेल नखाने उनले बताइन्। बजेट ल्याउन मात्रै सरकारले संकटको बेला संसद अधिवेशन सुरु गरेको उल्लेख गर्दै उनले अहिले छलफलका कुनै एजेण्डा र बिजनेस नभएकाले बन्द भएको बताइन्। 

९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले पछिल्ला घटनाक्रमहरूले विकास निर्माणका काममा अवरोध पुर्‍याएको पनि बताइन्। 

सरकारले व्यवसायीहरु माथिको जोखिम न्यूनीकरणका लागि काम गरिरहेको भएपनि अहिले परिस्थितिले जोखिम सिर्जना गरेको उनको भनाई छ। विकास निर्माणका क्षेत्रमा सरकारले गरेका कामहरुको परिणाम देखिने समयमा अहिलेको परिस्थितिले ‘डिस्टर्ब’ गरेको उनको भनाई छ।

राजनीतिक दलहरु भित्र बहस, छलफल, आलोचना र आत्मालोचना हुने भएपनि अशिष्ट ढंगले भयो भने त्यसले नकारात्मक परिणाम ल्याउने उनले बताइन्। पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भए पनि संवादबाटै सहमतिमा पुग्ने विश्वास उनले व्यक्त गरिन्।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.