समाज

त्रिशुली नदीको गोरखा-धादिङ खण्डमा तुइन विस्थापित

असार २१, २०७७


    धादिङ : तुइन र खिरखिरेमार्फत जोखिमपूर्ण तरिकाले त्रिशूली नदी वारपार गर्दै आएका धादिङ र गोरखा जिल्लाका स्थानीयवासीको दैनिकीमा अहिले परिवर्तन आएको छ। दुई पहाड वारपार गर्न ठाउँठाउँमा झोलुंगे पुल बनेपछि यहाँका बासिन्दाले अब कम्तिमा ज्यान नै जोखिममा पारेर त्रिशुलीमा हेलिनु नपर्ने भएको छ।

    झोलुंगे पुल बनेपछि त्रिशूली नदी पारिका स्थानीयलाई काम विशेषले बजार जानुपर्दा, बालबालिका विद्यालय जाँदा र स्थानीय कृषि उपज बजारसम्म लैजान धेरै सहज भएको छ। केही वर्ष अघिसम्म त्रिशूलीको धादिङ खण्डमा मात्र ११ वटा तुइन सञ्चालित थिए। तुइन विस्थापित गरी जोगीमारा, जवाङ, चौकीटार, कृष्णभीर, चरौंदी, मालिङ्गा, चालिसे र बेल्खुमा झोलुंगे पुल निर्माण गरिएको छ।

    गोर्खा र धादिङको सिमाना त्रिशूली नदीले छुट्याएको छ। एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न यसअघि यहाँका बासिन्दा जोखिम मोलेर तुइनको प्रयोग गर्न बाध्य थिए। पुल निर्माण भएपछि जीवनमा ठूलो परिवर्तन आएको उनीहरू बताउँछन्।

    २०७२ साल असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्रै देशभरका तुइन हटाएर झोलुंगे पुल बनाउने घोषणा गरेका थिए। सो निर्णय कार्यान्वयनमा आउन निकै समय लागेपनि अन्तत: धादिङ र गोरखाको सिमाना भएर बहने त्रिशुली नदीमा तुइन विस्थापन भएको छ।

    गोरखा हुइलिङटारका सोम बहादुर चेपाङसँग तुइन तर्न नसकेरै पढाइ छाड्नुपरेको नमिठो अनुभव छ। ‘दिनहुँ त्रिशूली नदीमा ट्युबमार्फत पौडी खेलेर पढ्न जानुपर्थ्यो’, उनी भन्छन, ‘तुइन एक्लै तान्न नसकेपछि ट्युबमार्फत पौडी खेलेर जानेभन्दा अरू उपाय थिएन। त्रिशूली तर्नै समस्या भएपछि विद्यालय नै जान छाडें।’ आफुले पढ्न नपाएपछि सोम बहादुरले भाइबहिनीलाई भने धादिङको जोगीमारा मझिमटारस्थित चेपाङ छात्रावासमा राखेरै पढाए।

    त्रिशूली नदीको धादिङ खण्डमा यसअघि ११ वटा तुइन थिए। अहिलेसम्म ती सबै तुइनलाई झोलुंगे पुलले विस्थापन गरिसकिएको छ। ट्युब र तुइन प्रयोग गरेको ठाउँमा झोलुंगे पुल बनेपछि निकै खुशी देखिएका सोमबहादुर भन्छन्, ‘अहिले झोलुंगे पुलबाट नदी वारपार गर्दा त जहाज चढेजस्तै लाग्यो।’

    पुल नहुँदा कृषिउपज बजार पुर्‍याउन, बिरामीलाई अस्पताल लैजान अनि विद्यार्थीहरू विद्यालय जान निकै कठिनाइ हुने गरेको थियो। तुइन चुँडेर कयौंले ज्यानसमेत गुमाउनुपरेको थियो। ज्यान माया मारेर तुइन र तुइनभन्दा पनि जोखिमपूर्ण खिरखिरेको प्रयोग गरी नदी तर्दै आएका स्थानीय झोलुंगे पुल बनेपछि खुसी भएका हुन्‌। धादिङको सिद्धलेक गाउँपालिकामा पर्ने कुम्पुर निबुवाटारका गोविन्द पण्डित भन्छन, ‘पहिले बजार निक्लिँदा बेलुका घर आइन्छ/आइन्न ठेगान हुँदैनथ्यो, अहिले त्रिशूली नदी वारपार गर्दा ढुक्क भएर हिँड्न पाएका छौं।’

    पृथ्वी राजमार्गअन्तर्गत गजुरी बजार पारि रहेको कुम्पुरका स्थानीयले तुइन भएको ठाउँमा पुल राख्नका लागि लामो समयदेखि संघर्ष गरेका थिए। उनीहरू तत्कालीन जिविसदेखि स्थानीय प्रशासन हुँदै मन्त्रालयसम्म पटक-पटक पुगेका थिए। त्यही संघर्षका कारण तुइन भएका ठाउँमा झोलुंगे पुल बनेको कुम्पुर खरमटारका सुरेश नेपाल बताउँछन्।

    ‘बालबालिकालाई विद्यालय पठाउनका लागि तुइन तार्न एकजनाको ड्युटी नै हुन्थ्यो’, उनी स्मरण गर्छन्, ‘ नेपालटार, कुम्पुरटार र गजुरीमा उत्पादित तरकारी गजुरी बजारसम्म बेच्न लैजाँदा तुइनबाट खसेर त्रिशुलीले कति जनालाई बगायो, कति जना घाइते भए लेखाजोखा नै छैन।’ पुल बनेपछि सबै गाउँले दंग रहेको र गाउँमा कृषि उत्पादनसमेत वृद्धि हुँदै गएको स्थानीय बताउँछन्।

    ‘पहिले सिँचाइ सुविधा भएपनि बेच्न लैजानकैसमस्याले गर्दा बारीमा खेतीपाती हुँदैनथ्यो’, नेपालटारका हरि नेपाल भन्छन्‌, ‘अब पुल बनेको छ, बेच्न लैजान सहज हुन्छ, व्यापारीहरू मोटर लिएर खेत खेतमै आईपुग्ने गरेका छन्। खेतीपाती पनि राम्रो हुँदै गएको छ।'

    सातवटा मोटर पुल बनाइँदै

    धादिङको त्रिशूली नदीमाथि सातवटा मोटर गुड्ने पुल निर्माण सुरू भएको छ। 

    विभिन्न गाउँपालिकालाई जोड्न सरकारले मोटरेबल पुल निर्माण गर्न लागेको हो। उत्तरी क्षेत्रका दुर्गम गाउँसँग सहज सम्बन्ध बनाउन पुल निर्माण थालिएको छ।

    जिल्लास्थित गल्छी गाउँपालिकाको फोस्टार, कल्लेरीटार, सालटार,केउरिनीटार,सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिका जोड्नका लागि पृथ्वी राजमार्गको घाटबेसीमा र जहरे, बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिका जोड्न ग्याँसटारमा मोटरेबल पुल निर्माणको काम भइरहेको छ।

    तीन वर्ष अघिदेखि थालिएका यी पुलहरूको निर्माण अहिलेसम्म सम्पन्न भइसक्नुपर्ने हो,  भएपनि निर्माण कार्यले गति लिन सकेको छैन।

केशव अधिकारी

अधिकारी थाहाखबरका लागि धादिङ समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]