उडूँ कल्पनाको चढी भाव यान
न रोकेर रोकिन्छ उड्दो विमान
खिची सार ल्याएँ छ आफ्नै उडान
न वा भाविकामा न वा चन्द्रमामा।
न नेपालभित्रै बसी विश्व देखेँ
न यो सिन्धुपाल्चोकमै विश्व भेटेँ
जगत् सृष्टि देखी परी छक्क आज
रचेँ कल्पनाका नजानेर काव्य।
हतारै गरी लेखनी यो समाई
अहो! प्रेमबास्ना कथामै सुँघाई
सबै श्लोक व्याख्या बनून् हाइ-हाइ!
कलादार बुट्टा भनून् शब्दलाई।
उता चन्द्रमाझैँ बनुन् मोहदाना
चुमी म्वाइँ खाएसरी काव्यपाना
फलून् शस्यदाना गुदीमा छ प्राण
खिची सार ल्याएँ नयाँ औ पुराना।
भनून् दिव्यमोती कलामा कला हुन्
र सौन्दर्यले लालिमा लाल छाऊन्
अहो! काव्य मीठो खुलेका गला हुन्
म मान्छे स्वयम् हूँ भनी ख्याल राखून्।
छ सौन्दर्य यो फूलबारी परीको
अहा! कण्ठ खुल्दो छ उड्दा चरीको
फुलून् फूल बुट्टा कतै केशरीको
घुमून् लालपाखा कलाकाव्यको यो।
कसो हो कसो हो, कता हो कता हो
चसक्कै छ दुख्दो यता वा उता हो
न वा रोग लाग्यो, न वा भोक लाग्यो
अहो! पेटभित्रै कहाँ के करायो?
न उन्मुक्त हो यो, न ठूलो व्यथा हो
कता के भनौँ खै, अनौठो कथा यो
न वा मोहनी पो कसैले लगायो
छली आई कोही सुटुक्कै लुकायो।
लुकाएँ कि क्या हो! कतै शून्यतामा
कसोरी पुगेँ शून्यको गोप्यतामा?
छ छट्पट्, छ छट्पट् मलाई अचेल
छ यस्तो अनौठो कसैभित्र खेल?
तपाईंको ईमेल गोप्य राखिनेछ ।