|

सुशील सुवेदी (स्याङ्जा) : ‘यस्ता फोटो खिच्ने कति आए कति, कसैले सुनेन!'

विकासका नाममा खनिएको सडकले अन्न उब्जाउने जमिन पुरेकोबारे रिपोर्टिङ गर्न पुग्ने पत्रकालाई वालिङ १३ का किसानले यस्तै जवाफ फर्काउँछन्। असार महिनामा जताततै मकै काटेर धान रोपिरहँदा आफ्नो खेत भलपहिरोले पुरेपछि किसानहरू चिन्तिन बनेका छन्। 

अर्काको जमिन अधियाँमा लिएर खेती गरी परिवार पाल्दै आएकी फुलमायाँले पनि विकासका लागि भन्दै खनिएको सडकका कारण निकै क्षति ब्यहोरेकी छिन्। चैते धान रोपेको खेत बगरमा परिणत भएको छ। 

सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ नगरपालिकाभित्र पर्ने सडक बिस्तार भएसँगै किसानको खेतमा भेल पस्न थालेको हो। प्राविधिक परामर्श बिना सडक बिस्तार गरिएपछि सडकभन्दा तल रहेका खेतमा गेगर माटो र भेल पसेर खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। फुलमाया भन्छिन्, ‘४ हलको मेलो सत्यानाश भयो, अब कसरी छोराछोरी पाल्ने?’

‘छिमेकी कुटो-कोदालो लिएर धान रोप्न गएका छन्, हामी भने कुटो-कोदालो लिएर भल छेक्न आएका छौँ, न मकै स्याहार्न पायौँ , न त धान रोप्न मिल्ने भो।’

स्थानीय सरकार गठन भएसँगै वालिङ नगरपालिकाले आफ्नो नगरभित्र पर्ने सिद्धार्थ राजमार्ग बिस्तार गर्ने अभियान सुरू गरेको छ। भीरकोट नगरपालिकाको सिमाना वालिङ-१ ओडहारेदेखि गल्याङ नगरपालिकाको सिमाना वालिङ-१३, बायँटारीसम्म घुम्ती कटान र सडक चौडा गर्ने कार्य भैरहेको छ। राजमार्ग छेउछाउमा भएका पुराना भेल बग्ने कुलो, खोल्सा र कल्भर्ट पुरिएका कारण सडकभन्दा तल रहेका खेतमा माटो र गेगर पसेको कृषकको गुनासो छ। 

वालिङ-१३, पाठेखोला र वालिङ-९, भुम्रेमा रहेको करीब ५० रोपनी जमिन अहिले बगरमा परिणत भएको छ। प्राविधिक परामर्शबिना अव्यवस्थित ढङ्गले राजमार्ग बिस्तार गरिएकोमा यहाँका किसान आक्रोशित बनेका छन्।  वालिङ १३ का पुर्णचन्द्र गौतम भन्छन्, ‘यो प्राकृतिक नभई मानवीय त्रुटीले निम्तिएको बिपद हो, सडकमुनि किसानको खेत छ भन्ने कुरो स्थानीय सरकारलाई हेक्का भएनछ।’

यता वालिङ-९ मा पानी लगाउने बाँध नै पुरिँदा करीब १०० रोपनी जमिनमा धान रोप्न समस्या परेको अमृत श्रेष्ठले बताए। विकासका नाममा सडक बिस्तार गर्दा प्राविधिक परामर्श नलिएकै कारण यो समस्या आएको श्रेष्ठको गुनासो छ। स्थानीय सरकारले बगरमा परिणत भएको जमिन अनुगमन गरेको छ। पानी पर्न रोकिएपछि रोकिएपछि सबै खेत सफा गरीदिने नगरप्रमुख दिलीप प्रताप खाँणले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.