|

म्याग्दी : गण्डकी प्रदेश सरकारले कास्कीको लेखनाथमा रहेको लायन्स सामुदायिक अस्पताल विकासका लागि ७० लाख ३४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। सरुवा रोग अस्पतालको रुपमा पूर्वाधार विकास गर्न प्रदेश सरकारले रकम उपलब्ध गराउने निर्णय गरेको हो।

प्रदेश सरकार शुक्रबारको मन्त्रिपरिषद् बैठकले अस्पताललाई जनशक्ति थप गर्नसमेत आवश्यक बजेट विनियोजन गरेको भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता रामशरण बस्नेतले बताए।

अस्पतालको भौतिक पूर्वाधार निर्माण, उपकरण जडान तथा जनशक्ति व्यवस्थापनका लागि यसअघि नै १ करोड रुपैयाँ उपलब्ध गराइएको थियो। पहिले विनियोजित रकम अपुग भएपछि थप बजेट उपलब्ध गराउने निर्णय भएको प्रवक्ता बस्नेतले बताए।

यस्तै, बैठकले लोकसेवा आयोग र गण्डकी प्रशिक्षण प्रतिष्ठानमा कर्मचारी दरबन्दी स्वीकृत गरेको छ। प्रतिष्ठानमा तत्कालका लागि ६ जना अस्थायी दरबन्दी कायम गरिएको छ भने लोकसेवा आयोगमा १६ जना कर्मचारी रहने व्यवस्था गरेको छ।

सरकारले प्रदेश लोकसेवा आयोगका लागि पनि ८ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेको छ। आवश्यक भौतिक संरचना निर्माण र कर्मचारी व्यवस्थाका लागि यो रकम छुट्याइएको हो।

सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कार्यविधिमा भएको व्यवस्था बदलेको छ। यसअघि एक निर्वाचन क्षेत्र भित्रको बजेट विशेष कारण बदल्नुपरे सोही गाउँपालिका भित्रको अर्को योजना छान्नुपर्ने नियम थियो। तर अब निर्वाचन क्षेत्रभित्रका जुनसुकै योजना पनि छान्न पाइने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.