|

काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउन आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। 

छलफलका क्रममा पार्टी अध्यक्ष्यसमेत रहेका प्रधानमन्त्री ओलीले संसद् नभएको स्थितिमा खारेज भएको राजनीतिक दलसम्बन्धी अध्यादेश अब पुनः ब्यूँताउने कुनै योजना नभएको स्पष्ट पारेका छन्। अध्यक्ष दाहालले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शबिना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आएका छन्। 

छलफलमा अध्यक्षद्वयका साथ सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनसमेत सहभागी भएका जनाइएको छ। 

छलफल केहीबेर अघि सकिए पनि नेताहरुले त्यसबारे प्रतिक्रिया दिएका छैनन्। यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपाका अध्यक्ष दाहाल तथा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले भेटवार्ता  गरेका थिए। 

नेकपामा विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगन गरी असार २१ गतेका लागि तोकेको थियो।

अध्यक्षद्वय बीच असार १९ गते भएको छलफल सकारात्मक भए पनि निष्कर्ष ननिस्केकाले आज पुनः छलफल भएको हो। यही असार १० गतेदेखि चालु स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि नेताहरु बीचको दूरी बढेको हो। 

यी नयाँ विषयले पूर्वनिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन्। साथै यही असार १८ गते सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषय पनि नेकपामा विवादित बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.