टीकापुर : सत्ताधारी दल नेकपामा विवाद चर्किरहेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कैलालीको टीकापुरमा प्रदर्शन भएको छ।
भारतीय चलखेलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुबाटै केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढाल्न खोजिएको भन्दै टीकापुरमा प्रदर्शन भएको हो।
प्रधानमन्त्री केपी ओली पक्षका उत्रिएका युवा, विद्यार्थी र सर्वसाधारणहरूले 'राष्ट्र नायक' केपी ओली जिन्दावाद, भारतीय विस्तारवाद मुर्दावाद' भन्दै नारा लगाएका थिए।
'अस्थिरता चाहिँदैन, सरकार ढाल्न पाइँदैन', भन्दै प्रदर्शनकारीहरूले नेकपा नेतृत्वलाई प्रधानमन्त्री केपी शर्मा ओली देशभक्त र राष्ट्रवादी नेता भएकोले उनको पक्षमा उभिन आव्हान गरेका थिए।
देशी/विदेशी शक्तिको षडयन्त्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरु लागेकाले खबरदारी गर्न प्रदर्शनमा उत्रिनु परेको सहभागीहरुले दावी गरेका थिए।
पानी परिरहेका बेला कालापानी, लिपुलेक, लिम्पयाधुरा र प्रधानमन्त्री ओलीको फोटोसहितको ब्यानर बोकेका हजार बढी युवा विद्यार्थी र सर्वसाधारण प्रदर्शनमा उत्रिएका थिए।
प्रदर्शनमा नेकपानिकट विद्यार्थी र युवा बढी थिए। टीकापुरको खड्ग चोकबाट सुरु भएको र्याली नेपालको झण्डा सहित बजार परिक्रमा गरी अस्पताल रोड हुँदै खड्ग चोक पुगेर सभामा परिणत भयो। सभालाई नागरिक अगुवा सम थापा लगायतले सम्बोधन गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।