चिकित्सक भन्छन् : लक्षण नदेखिए पनि रोग सर्न सक्छ

|

बैतडी : कोरोना संक्रमितलाई परीक्षणबिनै घर पठाउँदा गाउँमा संक्रमणको जोखिम बढेको छ। बैतडीका २ सय ७५ जनामा कोरोना पुष्टि हुँदा संक्रमणको जोखिम बढेको हो।  गत जेठ ९ गते जिल्लामा कोरोना संक्रमण पुष्टि भएकोमा हालसम्म संक्रमितको संख्या २ सय ७५ पुगेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

पुष्टि भएकामध्ये ७२ जना मात्रै स्थानीय तहले बनाएका क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।  बाँकी २०३ जनालाई यसअघि नै घर पठाइसकिएको छ। 

संक्रमितलाई पुनः परीक्षण नगरी कोरोना निको भएको पुष्टि नहुँदै घर पठाउँदा गाउँमा त्रास बढेको दोगडाकेदार ३ श्रीकोटका गणेश विष्टको भनाइ छ। 

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

जिल्लाको पञ्चेश्वरमा सबैभन्दा बढी ५० जना संक्रमित रहेको पञ्चेश्वर गाउँपालिकामा ४२ जना आइसोलेसनमा रहेका बाँकी ८ जना घरमै रहेका छन्। शिवनाथ गाउँपालिकाका ४८ जनामा कोरोना पुष्टि भएकोमा सबै घरमै रहेका स्वास्थ्य कार्यालयले जनाएको छ।  दोगडाकेदार गाउँपालिकामा पनि ४३ जनामा कोरोना पुष्टि हुँदा सबैलाई यसअघि नै होम आइसोलेसनमा पठाइसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताए।  कोरोना पुष्टि भएपनि भारतबाट फर्किएर १ महिनासम्म पनि क्वारेन्टाइनमा बस्दा समेत केही लक्षण नदेखिएपछि होम आइसोलेसनमा बस्ने सर्तसहित घरमा पठाइएको उनले बताए। 

यस्तै, सिगास गाउँपालिकामा ३६ जनामा कोरोना पुष्टि भएकोमा १८ जना आइसोलेसनमा रहेका छन् भने १८ जना होम आइसोलेसनमा पठाइएको छ। ३४ जनामा कोरोना देखिएको दशरथचन्द नगरपालिकामा १ जना मात्रै आइसोलेसनमा रहेका छन् भने अन्य ४२ जना होम आइसोलेसनमा रहेका जनाइएको छ। 

मेलौली नगरपालिकामा २४ जनामा कोरोना पुष्टि भएकोमा उनीहरु सबैलाई होम आइसोलेसनमा पठाइएको छ।  सुर्नया गाउँपालिकामा १४ जनामा संक्रमण देखिएकोमा सबैलाई घर पठाइएको छ।

पाटन नगरपालिकामा १२ जनामा कोरोना पुष्टि हुँदा ५ जना घरमा रहेका छन् भने ७ जना आइसोलेसनमा रहेका छन्। यसका साथै डिलाशैनी गाउँपालिका र पुर्चौडी नगरपालिकामा ७/७ जनामा कोरोना पुष्टि भएको उनीहरु पनि सबै होम आइसोलेसनमा रहेका जनाइएको छ। 

जिल्लामा संक्रमण पुष्टि भएमध्ये १४ जना मात्रै कोरोना जितेर डिस्चार्ज भएका हुन्। जसमा पञ्चेश्वरका ८, पाटनका ५ र शिवनाथका १ जना रहेको कोभिड १९ सम्पर्क व्यक्ति जोशीले बताए। अन्य सबैलाई कोरोनाका लक्षण नदेखिएको भन्दै १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइएको हो।

पुन: परीक्षण नगरिएका संक्रमितले होम आइसोलेसनमा नबसी गाउँघरमा डुल्ने सामूहिक कार्यमा सहभागी हुने भएकाले संक्रमणको जोखिम बढेको दोगडाकेदार गाउँपालिकाका नरेन्द्र विष्टले बताए। संक्रमितहरू गाउँघरमा जथाभावी गाउँमा डुल्ने गरेका छन् उनले भने, ‘गाउँमा सामूहिक कार्यमा समेत सहभागी हुने गरेकाले संक्रमणको जोखिम बढेको छ।’ 

लक्षण नदेखिए पनि रोग सर्न सक्छ

संक्रमित १४ दिन आइसोलेसनमा बसेपछि कुनै लक्षण नदेखिएपछि होम आइसोलेसनमा पठाएका व्यक्तिबाट पनि कोरोना सर्ने जोखिम हुनसक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए।  उनले भने, ‘होम आइसोलेसनमा नबसी जथाभावी हिँडडुल गर्ने तथा सामूहिक कार्यमा सहभागी हुँदा कोरोना सर्ने जोखिम बढी हुन्छ।’

बैतडीमा हालसम्म ११ हजार २४५ जनाको आरडिटी परीक्षण गरिएको छ भने १ हजार ४ सय ९२ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।  जसमध्ये आरडिटी पोजेटिभ आएका १ हजार ८ सय ६९ जनामध्ये १ हजार ४ सय ४९ जनाको मात्रै रिपोर्ट आएको छ भने बाँकीको रिपोर्ट आउँन बाँकी रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.